माल्दिभ्समा पूर्वराष्ट्रपति नशीद फेरि शक्तिमा

माल्दिभ्समा पूर्वराष्ट्रपति नशीद फेरि शक्तिमा

केन्द्रबिन्दु
0
Shares

माले

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नशीद फेरि शक्तिमा फर्किएका छन् । पूर्ववर्ती सरकारले भ्रष्टाचारको आरोप लगाएपछि निर्वासनमा रहेका नशीद स्वदेश फर्किएको पाँच महिनापछि फेरि निर्वाचन मार्फत् शक्तिमा आएका हुन् ।

शनिबार भएको संसदीय निर्वाचनमा उनको पार्टीले अत्याधिक मत प्राप्त गरेको विवरण सार्वजनिक गरिएको छ । नशीदको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडिपी) ले नाटकीय रुपमा दुई तिहाई जित हासिल गरेको छ ।

माल्दिभ्समा कुल ८७ सदस्यीय संसद रहेको छ । अत्याधिक मतका साथ जित हासिल गरेको एमडिपीका ५१ वर्षीय नेता नशीदले स्थिरता र लोकतन्त्रका लागि काम गर्ने र राजनीतिक संकट र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

विजयी भएपछि राजधानी मालेमा आइतबार उनले भने, ‘शान्ति स्थापनाका लागि काम गर्नु हाम्रो सरकारको मुख्य दायित्व हुनेछ ।’ उनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति अब्दुल्ला यमिन भने यस पटक निर्वाचनमा सहभागी भएका थिएनन् । तर उनको पार्टी प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स सहभागी भएपनि चार सिट मात्रै जितेर समग्रमा नराम्रो पराजय भोग्न बाध्य भएको छ ।

गत सेप्टेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा नशीदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भएका थिए । उनीसँग पराजित भएका तत्कालिन राष्ट्रपति यमिनले निर्वासनमा बस्न बाध्य पारिएका नशीद गत निर्वाचनमा सोलिह विजयी भएपछि मात्रै स्वदेश फर्किएका थिए ।

पूर्वराष्ट्रपति यमिन शक्तिमा भएका बेला नशीदलाई विवादास्पद आतंकवाद सम्बन्धी मुद्दा लगाएर १३ वर्ष जेल सजाय सुनाइएको थियो । गतवर्ष राष्ट्रपति परिवर्तन भएपछि उनलाई दिएको जेल सजाय रद्द गरेर रिहा गरिएको थियो ।

सेम्टेम्बरमा भएको निर्वाचनको बेला तत्कालीन विपक्षी दलका नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन् ।

सोलिह निर्वाचित भएपछि उनले राजनीतिक बन्दीहरूका मुद्दा तत्काल फिर्ता लिने अभियानका क्रममा नशीदलाई पनि स्वदेश फकाईएको हो । सोलिह नेतृत्वको सरकारले यमिनलाई अनेक मुद्दा लगाएपछि माल्दिभ्समा प्रतिशोधको राजनीति चर्किदै गएको छ ।
एजेन्सी

Logo