कानपुर
भारतको कानपुरमा विषाक्त मदिरा सेवनले बाबु-छोरा सहित छ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेश राज्यमा भएको सो घटनासँग जोडिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूका अनुसार घटनास्थलमा २० जनाको प्रहरी टोली खटाइएको छ । सो टोलीले ७५ वटा भाडामा रहेको अवैध मदिरा बरामद गरेको छ ।
प्रहरीले घटनास्थलमा पुगेर शङ्कास्पद अन्य व्यक्तिको खोजी गर्नुका साथै अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको वरिष्ठ प्रहरी निरीक्षक अनन्त देव सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो घटनामा प्रयोग भएको मदिरा उत्पादन गर्नेले जिल्ला भरी नै अवैध रूपमा मदिरा विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ, त्यसलाई रोक्न अब हामीले चाँडै नै जनचेतानमूलक अभियान चलाउने छौँ ।”
उहाँले दर्ता नभएका, घरेलु, अवैध मदिरा प्रयोग नगर्न पनि सबैलाई आह्वान गर्नुभएको समाचारमा जनाइएको छ ।
भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने घटना बेलाबेलामा हुने गरेको छ । एक महिना अगाडि मात्रै उत्तर प्रदेशको कुशीनगर र उत्तराखण्डको हरिद्वारमा विषाक्ता मदिरा सेवन गरेका १५० भन्दा बढीको मृत्यु भएको थियो ।
रासस/एएनआई





























प्रतिक्रिया