काठमाडौं । फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र जम्मु–कास्मिरको पुलवामा आतंकदावी हमला हुँदा ४० सुरक्षाकर्मी मारिए । त्यसपछि भारत र पाकबीच तनाव बढेको छ । उक्त हमला पाकिस्तानले गराएको भारतको आरोप छ । तर पाकिस्तानले उक्त दावी अस्वीकार गर्दै आएको छ । यहि क्रममा भारतले मंगलबार पाकिस्तानको सीमा क्षेत्र बालकोटमा जवाफी हमला गरेको थियो ।
भारतीय वायु सेनाको १२ वटा विमानले आतंकवादी समूह जैस–ए–मोहम्मदको आखडा ध्वस्त पारेको दावी गरिएको थियो । उक्त समूहको सबैभन्दा ठूलो तालिम केन्द्र मानिएको बालकोटको घना जंगलमा १ हजार किलो तौल भएको बम हानेको थियो । तर पाकिस्तानले उक्त क्षेत्रमा हानिएको बमले सल्लाका रुखहरुमा क्षति पुगेको दावी गरेको थियो ।
त्यस्तै गत बुधबार बिहान पनि सिमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीबिच गोली हानाहान भएको थियो । गोली हानाहान हुँदा ४ पाकिस्तानी सर्वसाधारण व्यक्ति मारिएका थिए भने ५ भारतीय सेनाका जवान घाइते भएका थिए ।
यस्ता हमलाहरुले दुई देशबीच युद्ध चर्किने खतरा बढेको थियो । तर अहिलेलाई त्यो टरेको छ । दुवै देशले आफ्नो सैन्य गतिविधिमा व्यापक मात्रामा बढाएका थिए । युद्धको खतरा टर्नुको कारण पाकिस्तानी नियन्त्रणमा रहेका भारतीय वायु सेनाका पाईलट अभिनन्दन वर्धमान रिहा पर्नुहो ।
दुई देशबीच बढ्दो तनावपछि एकअर्काले युद्धको धम्की दिए । त्यो क्रम अझै मत्थर भएको छैन् । दुवै देशले एक अर्कालाई सखापै पार्ने गरी अगाडि बढिरहेका बेला कुन राष्ट्र कति शक्तिशाली ? भन्ने प्रश्न पनि उठिरहेको छ । भारत–पाक दुवै देश आणविक हतियार सम्पन्न राष्ट्र हुन् ।
भारत र पाकको सैन्य शक्तिः
१ अर्ब ३२ करोड जनसंख्या रहेको भारतमा १२ लाख सैनिक रहेका छन् । चीन र अमेरिकापछि विश्वमा सबैभन्दा बढी सैनिक भएको तेस्रो मुलुक हो भारत । त्यस्तै भारतसँग ९० हजार भन्दा बढी आरक्षित सेना तथा २० लाख प्यारामिलिटरी फोर्स छ । उक्त फोसलाई सीमा क्षेत्रमा खटाईएको छ । लगभग २५ हजार बढी गोर्खा आर्मी भारतमा कार्यरत छन् । जुन संसारकै शक्तिशालीमा गनिन्छ ।
२० करोड जनसंख्या रहेको पाकिस्तानसँग ८ लाख सैनिक छ । भारतसँग सीमा हुने गरेको तनावका कारणले पाकिस्तानले यत्रो संख्यामा सैनिक राखेको देखिन्छ । ६० हजार भन्दा बढी आरक्षित सेना पाकिस्तानसँग छ । त्यस्तै १ लाख ८५ हजार आर्मी नेशनल गार्ड छन् ।
पाकिस्तानले सैनिक शक्तिलाई एकदमै मजवुद बनाएको देखिन्छ । भारतको वार्षिक रक्षा बजेट मात्रै ४० लाख करोड भारुको छ । जबकी पाकिस्तानसँग जम्मा ५० हजार करोड रुपैयाँ मात्र छ ।
सैन्य हतियारः
सैन्य हतियारको हिसावले पाकिस्तान भन्दा भारत धेरै अगाडि छ । भारतीय सेनासँग ४ हजार ४ सय ट्याङ्क, ६ हजार ८ सय बख्तरबन्द लडाकु बहान, २९० सेल्फ प्रोपेल्ड गन, २९२ रकेट लन्चर रहेका छन् । त्यस्तै पाकिस्तानसँग २९ सय ट्याङ्क, २ हजार ८ सय बख्तरबन्द लडाकु बहान, ४६५ सेल्फ प्रोपेल्ड गन र १३४ रकेट लन्चर रहेका छन् ।
एयरक्राफ्ट र लडाकु हेलिकोप्टरः
भारतको वायूसेनासँग २ हजार १ सय ८५ वटा एयरक्राफ्ट छन् । यस आधारमा भारत विश्वको चौथो ठूलो एयरफोर्स मानिन्छ । पाकिस्तानसँग भने १ हजार २ सय ८१ एयरक्राफ्ट छन् ।
त्यस्तै पाकिस्तानको वायु सेनाले आफुलाई शक्तिशाली मान्दै जानुको एउटा कारण छ । त्यो हो लडाकु हेलिकोप्टर । पाकिस्तानसँग ५१ वटा एएचवानएस कोब्रा हेलिकोप्टर छन् । १५ एएचवानजेड भाइपर छन् । भारतीय सेनासँग भने ३९ वटा अट्याक हेलिकोप्टर छ । केही समय अघिसम्म भारतसँग लडाकु हेलिकोप्टर थिएन् ।
जलसेनाः
जलसेनामा भारत विश्वमै अग्रणी छ । भारतसँग ६७ हजार जलसेना छ । पाकिस्तानसँग २६ हजार मात्रै छन् । भारतीय जलसेनासँग ११ डिट्रोयर, १४ फ्रिगेट्स, १५ सबमरिन, २३ कोर्बेट, ७ माइन वारफेयर सिप र ७२ पेट्रोल सिप छन् । पाकिस्तानसँग भने १० फ्रिगेट्स, १ क्रुजर, ८ सबमरिन, ३ माइन वारफेयर सिप र १७ पेट्रोल सिप छन् ।
त्यस्तै पाकिस्तानी सेनासँग भएको सबैभन्दा खतरनाक हतियार अल खालिद ब्याटल ट्याङ्क छ । जसलाई पाकिस्तानी सेनाको मेरुदण्ड पनि भन्ने गरिन्छ । भारतसँग भने अर्जुन एमके–२ नामको नयाँ ट्यांक विकास गरिरहेको छ ।
आणविक हतियारमा पाकिस्तान बलियोः
आणविक हतियार शक्ति सम्पन्न दुवै राष्ट्रबीच यदि युद्ध भएमा यसको प्रयोग हुने खतरा बढेको छ । दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले जापानमाथि दुई वटा आणविक बम खसालेको थियो ।
त्यो हमलामा परि झण्डै २ लाख मानिसहरु मारिएका थिए । जुन क्षेत्रमा अहिलेपनि असर परिरहेको छ । आणविक हतियारका हिसावमा पाकिस्तान भारतभन्दा शक्तिशाली देखिन्छ । पाकिस्तानसँग १३० आणविक हतियार छन् भने भारतसँग ११० वटा छन् ।
आणविक हतियारको प्रयोग गरिएमा दुवै दुवै पनि समाप्त हुन्छन् । पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुसरर्फले यदि पाकिस्तानले १ आणविक बम प्रहार गरेमा भारतले २० वटा हान्ने बताएका थिए । उनले यो विकल्प कहिल्यै पनि प्रयोग नगर्न दुवै देशलाई सुझाव दिएका छन् । भारतले सन् १९७४ मा पहिलोपटक आणविक परीक्षण गरेको थियो भने पाकिस्तानले सन् १९९८ मा आएर मात्रै गरेको थियो ।
आणविक हतियार प्रहार गर्न सक्ने क्षेप्यास्त्रः
दुवै राष्ट्रसँग आणविक हतियारहरु प्रहार गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र छन् । भारतसँग ९ प्रकारका अपरेसनल मिसाइलहरु छन् । जसमा अग्नि–३ सबैभन्दा खतरनाक हो ।
यो क्षेप्यास्त्रले ३ हजार देखि ५ हजार किलोमिटरसम्म मार हान्न सक्छ । पाकिस्तानको क्षेप्यास्त्र ‘द सासिन २’ ले छोटो तथा मध्यम दूरीमा प्रहार गर्न सक्छ । यसले २ हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ ।
पाकिस्तानले उक्त क्षेप्यास्त्र चीनको सहयोगमा बनाएको थियो । त्यस्तै पाकिस्तानसँग ५० देखि १०० किलोमिटर क्षमताका मिसाइलहरु पनि छन् । पाकिस्तानसँग १४० देखि १५० वटा न्यूक्लियर वारहेडहरु छन् । तर भारतसँग १३० देखि १४० वटासम्म छन् ।





























प्रतिक्रिया