मोदीको भ्रमणमा चीनको आपत्ति : चीन – भारत सीमा विवाद

मोदीको भ्रमणमा चीनको आपत्ति : चीन – भारत सीमा विवाद

केन्द्रबिन्दु
0
Shares

बेइजिङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चिनियाँ सरकारले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै मोदी भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउनसक्ने संकेत गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा छुन्याइङले मोदी भ्रमणलाई लक्षित गर्दै जारी गरिएको विज्ञप्तिमा चीन र भारतबीच सीमा क्षेत्र प्रष्ट रहेको भन्दै ‘सो कल्ड अरुणाञ्चल प्रदेश’ मा भारतीय नेताहरुको भ्रमणमा चीन सरकारको आपत्ति रहेको टिप्पणी छ ।

विदेशमन्त्री छुन्याइङले शनिबार विज्ञप्ति जारी गर्दै भारतले दुई देशको साझा स्वार्थलाई ख्याल गर्नुपर्ने भन्दै चीनको मामिलामा सम्मान गर्नुपर्ने उल्लेख गरेकी छन् । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४ हजार करोडको आधारशिला कार्यक्रम उद्घाटन गरेका थिए । मोदीले सरकारले यस क्षेत्रमा हाईवे, रेलवे, एयरवे लगायत विस्तारमा महत्व दिएको बताएका थिए ।

चिनियाँ पक्षको भनाइपछि नयाँदिल्लीबाट विदेश मन्त्रालयले अरुणाञ्चल प्रदेश भारतको भूभागबाट छुट्नै नसक्ने महत्वपूर्ण क्षेत्र रहेको भन्दै प्रतिक्रिया जनाएको छ । अरुणाञ्चल प्रदेशमा भारतीय नेताहरु यसअघि पनि पटक पटक भ्रमण गर्दै आएका छन् ।
एजेन्सी

Logo