पाँच तारे होटलमा आतंकवादीको भीषण हमला

पाँच तारे होटलमा आतंकवादीको भीषण हमला

केन्द्रबिन्दु
0
Shares

नैरोबी

केन्याको एउटा सुविधासम्पन्न पाँच तारे होटलमा आतंकवादी हमला भएको छ । नैरोबीस्थित वेस्टल्यान्ड जिल्लामा रहेको डुसिट डी–२ होटल परिसरमा दुई वटा शक्तिशाली विस्फोटका आवाज सुनिनुका साथै गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमालियामा सशस्त्र हिंसात्मक गतिविधि गरिरहेको अल सबाब आतंकवादी समूहले यो हमला गरेको बताए पनि विस्तृत विवरण दिएको छैन । चार जना सशस्त्र हतियारधारी सो होटलमा प्रवेश गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

आक्रमणपछि सो होटलमा रहेकाहरु त्यहाँबाट भाग्न सुरु गरेका थिए । यसरी भागिरहेकाहरु मध्ये धेरैजसो रगतमा लत्पतिएका थिए । स्थानीय समय अनुसार मंगलबार दिउँसो ३ बजे सो होटलमा आक्रमण सुरु भएको थियो ।

सो होटल नजिकै अर्को भवनमा काम गरिरहेकी एक महिलाले रोयटर्ससँग भनेकी छन्, ‘मैले बन्दुक पड्किएको सुने । त्यस लगत्तै मान्छेहरु एक अर्काको हात समाउँदै भवनबाट बाहिर निस्किएर भागिरहेका थिए । केही भने नजिकै रहेको बैंकको भवनभित्र ज्यान जोगाउनका लागि लुकेका थिए ।’

विस्फोट भएपछि सो होटलबाट ठूलो धुवाँको मुस्लो निस्किएको देखिएको थियो भने पार्किङमा रहेका सवारी साधनमा समेत आगो लागेको थियो । एक प्रहरी अधिकारीले भनेका छन्, ‘त्यहाँको अवस्था राम्रो देखिएको छैन । सर्वसाधारण मारिएका छन् ।’

यद्यपि यो समाचार तयार पार्दासम्म घटनाको विस्तृत विवरण आइसकेको छैन । केन्याका प्रहरी प्रमुख जोसेफ बोइनेटले भने, ‘सशस्त्र हतयारधारी आतंकवादीहरुले होटल कब्जा गरेका छन् । विशेष सुरक्षा दस्ताले होटललाई कब्जाबाट मुक्त पार्ने कोशिस गरिरहेको छ ।’

पाँच तारे डुसिट डी–२ होटलमा १०१ कोठा रहेका छन् । आफ्नै स्पा र केही रेस्टुरेन्टसमेत भएको यो होटल निकै चर्चित छ । केन्यामा पछिल्ला केही वर्षदेखि आतंकवादी हमलाका घटनामा वृद्धि भएको पाइएको छ । यसरी हुने आक्रमण अधिकांश सोमालिया र केन्याको सीमा क्षेत्रमा भएका छन् ।
रोयटर्स

Logo