डेढ वर्षदेखि रोकिएको जग्गा कित्ताकाट खुल्यो

डेढ वर्षदेखि रोकिएको जग्गा कित्ताकाट खुल्यो


काठमाडौं । सरकारले करिब डेढ वर्षपछि जग्गाको कित्ताकाट खुला गरेको छ । घरजग्गा कारोबारीले खेतीयोग्य जमिन प्लटिङ गरेर व्यवसाय गर्न थालेपछि सरकारले गत वर्ष साउन २६ गतेदेखि कित्ताकाट बन्द गरेको थियो ।

कित्ताकाट शुक्रबारबाट खुला भएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिईन् । मन्त्री अर्यालले पत्रकार सम्मेलन गरेर कित्ताकाट केही सजिलो बनाईएको जानकारी दिएकी हुन्।

नागरिकका व्यवहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो बनाइएको जानकारी दिइन्। ‘अंशवन्डा लगायतका व्यवहारिक समस्या देखिएकाले कित्ताकाट गर्न दिन नापी विभागलगायतलाई निर्देशन दिएका छौं,’ मन्त्री अर्यालले भनिन्, ‘तर खेतीयोग्य जमिन घडेरी बनाउन कित्ताकाट गर्न भने पाइँदैन।’

कुनै जग्गा खेतीयोग्य हो कि होइन भन्ने सिफारिश गर्ने अधिकार स्थानीय तहलाई दिइएको उनले बताईन् । स्थानीय तहले कुनै जमिन खेतीयोग्य होइन भनी सिफारिश गरे कित्ताकाट गर्न पाइने छ।

बीचमा केही व्यक्तिले चलखेल गरेर केही स्थानमा कित्ताकाट गरे पनि औपचारिक रुपमा खुलेको थिए। यो निर्णय विवादित बनेपछि सरकार पछि हटेको हो ।

जग्गा दलालहरूले कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि जग्गा प्लटिङ गर्न रोक लगाईएको थियो । घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिई दलालहरूले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको थियो ।

Logo