काठमाडौं ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड एक यस्तो बुक हो जसमा आफ्नो नाम लेख्नका लागि दुनियाँभरका मानिसहरु उत्सुक हुने गर्छन् । यसका लागि मानिसहरु विभिन्न खालका काम गर्ने गर्छन् । संसारभरी धेरै यस्ता मानिसहरु छन् जो आफू चर्चित बन्नका लागि जे पनि गर्न तयार हुन्छन् । उनीहरुको यस्तो सपनाहरुका कारण दुनियाँले उनीहरुलाई चिन्छन् । आज हामी यस्ता मानिसहरुका बारेमा चर्चा गर्दैछौं । जो आफ्नो अनौठो र अचम्म हर्कतका कारण आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाएका छन् ।
संसारको सबैभन्दा लामो कपाल हुने महिला

भारतको गुजरात प्रान्तकी निलाङ्सी पटेलले १८ वर्षको उमेरमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरेकी थिइन् । उनले २१ नोभेम्बर सन् २०१८ मा टिनएजर क्याटगरीको सबैभन्दा लामो कपाल पाल्ने महिलाहरुमा गिनिज वर्ल्ड रेकर्ड बनाएकी थिइन् । निलाङ्सीले १७० सेन्टीमिटर लामो कपालको साथमा वर्ल्ड रेकर्ड बनाएकी थिइन् । यस्तै २२ सेप्टेम्बर २०१९ मा उनले पुनः दोस्रो पटक १९० सेन्टीमिटर लामो कपालका साथ आफ्नो पहिलो रेकर्ड तोडेकी छिन् । निलाङ्सीलाई उनका साथीहरुले रापुञ्जेल नामले बोलाउने गर्छन् ।
संसारको सबैभन्दा होची महिला

यस्तै भारतकी अर्को महिला जो आफ्नो उचाईकै कारण दुनियाँको नजरमा परेकी छिन् । उनी हुन्, ज्योती आमागे । ज्योती संसारकै सबैभन्दा होची महिला हुन् । उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम डिसेम्बर १६ सन् २०११ मा आफ्नो १८ औं जन्मदिनको अवसरमा लेखाएकी थिइन् । सन् १९९३ डिसेम्बर १६ मा भारतको नागपुरमा जन्मिएकी ज्योतिको उचाई २४.७ इञ्च मात्र रहेको छ । उनी भारतीय नायिका समेत हुन् ।
सबैभन्दा लामो नङ हुने महिला

अमेरिकामा बस्दै आएकी क्रिस वाल्टोनसँग संसारकै सबैभन्दा लामो नङ रहको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार, उनको नङको साईज १० फिट २ इन्च रहेको छ । क्रिससँग न किटाणुको डर छ न त यति लामो नङको नै । उनले १८ वर्ष अगाडिदेखि आफ्नो नङ पाल्दै आएकी छिन् । ४५ वर्षीया क्रिसले लामो नङ भए पनि कपाल बाट्ने, खाना पकाउने, गाडी चलाउने सबै काम आफैं गर्छिन् ।
सबैभन्दा लामो जुङ्गा हुने

भारतका राम सिंह चौहानलाई विश्वले उनको लामो जुङ्गाका कारण चिन्छन् । राजस्थानमा बस्दै आएका राम सिंहको १४ फिट लामो जुङ्गा रहेको छ । लामो जुङ्गाकै कारण उनले सन् २०१० मा आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाएका छन् । जुन रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । पर्यटन क्षेत्रमा काम गर्दै आएका रामले पछिल्लो ३९ वर्ष देखिबाट आफ्नो जुङ्गा काटेका छैनन् ।
आँखा बाहिर निकाल्ने महिला

अमेरिकाको सिकागो शहरमा बस्दै आएकी किम गुडमैनले आँखा बाहिर निकालेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । उनीसँग आफ्नो आँखाको १२ मिलिमिटर (०.४५ इन्च) सम्म बाहिर निकाल्ने क्षमता छ । डाक्टरहरुका अनुसार, जो कोहीले आँखाको भाग यसरी बाहिर निकाल्न नसक्ने बताएका छन् । सन् १९७६ मा जन्मिएकी गुडमैनले सन् २००४ मा आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरकी थिइन् ।
शरीरमा ६ लाख भन्दा बढी मौरी बसाल्ने व्यक्ति

चीनका एक पुरुषले आफ्नो शरीरमा ६ लाख ३७ हजार भन्दा बढी मौरी बसालेर वर्ल्ड रेकर्ड बनाएका छन् । रुआन लियान्गमिङ्गले आफ्नो शरीर मौरीले ढाकेर वर्ल्ड रेकर्ड बनाएका थिए । लियान्गमिङ्गको ५३ मिनेट ३४ सेकेन्डको रेकर्ड चीनको जियाङ्सी प्रान्तको येचुन शहरमा रहेको अधिकारीहरुले प्रमाणित गरेका थिए । यसरी सन् २०१६ मा लियान्गमिङ्गले विश्व रेकर्ड बनाएका थिए । लियान्गमिङ्गले सुरुमा आफ्नो शरीरमा रानी मौरीलाई बसालेका थिए । यसपछि अरु मौरीहरु आकर्षित भएर आएका थिए । लियान्गमिङ्गको शरीरमा बसेका ६ लाख ३७ धेरै मौरीको तौल ६३ केजी रहेको थियो । लियान्गमिङ्गका अनुसार, यस्तो कार्य गर्नका लागि शान्त व्यवहार हुन जरुरी छ ।एजेन्सीकाे सहयाेगमा





























प्रतिक्रिया