एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूचीलाई दिएको आफ्नो सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ ।
उनलाई दिइएको सम्मान फिर्ता लिँदै एमनेस्टीले रोहिंग्या अल्पसंख्यकका विषयमा सूचीले गरेको काम निराशाजनक रहेको जनाएको छ । ७३ वर्षीय सुचीलाई दिइएको सम्मान फिर्ता गरिएको यो पहिलो पटक भने होइन ।
एमनेस्टी इन्टरनेसनलका महासचिव कुमी नाइडूले म्यानमारका नेतालाई पत्र पठाउँदै उनलाई दिइएको सम्मान फिर्ता लिएको जानकारी गराएका हुन् । पत्रमा सूचीले मानवअधिकारको रक्षाका लागि सही अडान लिन नसकेको र उनको कदमले संगठन निराश भएको उल्लेख गरिएको छ । रोहिग्या अल्पसंख्यकका विरुद्ध भएको अत्याचारप्रति सुचीको रुखो व्यवहारले आफूहरु उनलाई दिएको सम्मान फिर्ता गर्न बाध्य भएको एमनेस्टीले जनाएको छ ।
योसँगै उनले आफ्नो कदमलाई सच्याउने अपेक्षासमेत एमनेस्टीले गरेको छ । सूची नजरबन्दबाट रिहा भएको ८ वर्ष पुगेकै दिन एमनेस्टीले उनलाई दिएको सम्मान फिर्ता गरेको हो ।
क्रुर सैन्य शासनविरुद्ध र लोकतन्त्रको रक्षाका लागि १५ वर्षसम्म नजरबन्दमै रहेर संघर्ष गरेकी सूचीलाई एमनेस्टी इन्टरनेसनलले सन् १९८९ मा राजनीतिक बन्दी घोषित गरेको थियो ।नोबेल पुरस्कार विजेता सूचीलाई एमनेस्टी इन्टरनेसनले सन् २००९ मा यो सम्मान प्रदान गरेको थियो । (एजेन्सी)





























प्रतिक्रिया