काठमाडौं । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि युरोपेली संघका महामहिम राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेका छन्।
काठमाडौं लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा दुई पक्षीय सम्बन्धको विविध आयामबारे महत्वपूर्ण संवाद भएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघ (ईयु) बीच सन् १९७४ देखि स्थापित सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिँदै अघिल्लो वर्ष मनाएको कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सवको चर्चा गरे। ‘उक्त अवसरले नेपाल र ईयुबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास लिएको छु’ उनले भने, ‘ईयु नेपालको प्रमुख विकास साझेदारका रूपमा रहिआएको छ ।’
स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाईलगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली संघ समर्थित कार्यक्रमहरूको उपयोगिताको उच्च प्रशंसा गर्दै उहाँले कर्णाली प्रदेशमा ईयुको सहयोग अन्तर्गतका आयोजनाहरूले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पुर्याएको बताए।
‘नेपाल र ईयु लोकतन्त्र, स्वतन्त्रता, र बहुपक्षीयताजस्ता साझा मूल्यहरूमा विश्वास राख्छन्’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘महामारी र जलवायु परिवर्तनलगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न बहुपक्षीय सहकार्यको आवश्यकता छ । यी विषयमा थप सहकार्यका लागि नेपाल तत्पर छ ।’ उनले नेपालको राजनीतिक रूपान्तरणको यो चरणसम्म आइपुग्न अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सद्भाव र समर्थनबारे उल्लेख गर्दै नेपालको ऐतिहासिक राजनीतिक उपलब्धिहरुलाई कायम राखी मुलुकको आर्थिक आकांक्षालाई पूरा गर्न ईयुले निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे।
‘सगरमाथा संवाद’को महत्वको चर्चा गर्दै उपराष्ट्रपति यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ बारे विश्वस्तरीय बहसको उद्देश्यले स्थापना गरिएको संवाद मञ्चको आगामी संस्करणको आयोजना मे १६/१८, २०२५ मा काठमाडौंमा हुने जानकारी गराए। ‘उक्त संवादमा ईयुबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा व्यक्त गर्दछु ’ उनले भन, ‘ आगामी युरोप–डे को अवसरमा युरोपेली जनताको सुख, शान्ति, र समृद्धिको शुभकामना पनि व्यक्त गर्दछु ।’
नेपालका लागि युरोपेली संघका महामहिम राजदूत भेरोनिक लोरेन्जोले नेपाल र युरोपेली संघबीचको सम्बन्ध पछिल्लो समय थप प्रगाढ बन्दै गएको उल्लेख गर्दै यो वर्ष युरोप–डेको स्वागत समारोह (रिसेप्सन) नेपालको सांस्कृतिक सम्पदालाई सम्मान गर्ने उद्देश्यले पाटन दरबार क्षेत्रमा गर्न लागेको बताए।
‘युरोपेली संघ वातावरण र जलवायु परिवर्तनमा लगानी गर्न चाहन्छ’ उनले भने। राजदूत लोरेन्जोले दूधकोशी हाइड्रोपावरमा ईयू लगानी गर्न ईच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेश प्रदेशमा नविकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेश प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने बताए। ‘नेपाल अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुन लागेकोले त्यसक्रममा आउने चुनौती र गृहकार्यमा नेपाल सरकारसंग समन्वय गर्न तत्पर छौ’ उनले भने।































प्रतिक्रिया