कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कुर्दिस्तान वर्कर्स पार्टी पिकेके ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की राज्यविरुद्धको सशस्त्र सङ्घर्ष अन्त्य गरेको र चार दशक लामो घातक विद्रोहमा विरामकाे घाेषणा गरेकाे छ ।

सन् १९७० को दशकको उत्तरार्धमा अब्दुल्लाह ओकलानद्वारा स्थापित पिकेकेले सन् १९८४ मा हतियार उठाएर टर्की राज्यविरुद्ध आक्रमणको शृङ्खला सुरु गरेको थियो र यसमा ४० हजारभन्दा बढीको ज्यान गएको थियो ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानको एकेपी पार्टीले यस कदमलाई ‘महत्त्वपूर्ण कदम’ का रूपमा स्वागत गरेको छ, तर सरकारले यस प्रक्रियालाई ‘सावधानीपूर्वक निगरानी’ गर्ने चेतावनी दिएको छ । यसलाई राष्ट्रपति एर्दोगानको लागि ठूलो जितको रुपमा देखिएको छ ।

“१२ औँ पिकेके काङ्ग्रेसले पिकेकेको सङ्गठनात्मक संरचना विघटन गर्ने र यसको सशस्त्र सङ्घर्षको विधि अन्त्य गर्ने निर्णय गरेको छ”, कुर्द–समर्थक एएनएफ समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा समूहले भनेको छ ।

संस्थापक ओकलानले फेब्रुअरी २७ मा आफ्ना लडाकुहरूलाई इस्तानबुलको इम्राली जेल टापुबाट एउटा पत्रमा निःशस्त्रीकरण र विघटन गर्न आग्रह गरेपछि यो ऐतिहासिक घोषणा आएको हो । उक्त जेलमा उहाँ सन् १९९९ देखि बन्दी छन् ।

“यो अन्त्य होइन, यो नयाँ सुरुआत हो”, पिकेकेका कार्यकारी समितिका सदस्य दुरान कल्कनले सञ्चार माध्यमलाई भनेका छन् ।

यो प्रक्रिया सफल भएमा उनी २०२८ को चुनावमा बलियो उम्मेद्वारको सामने आउन सक्ने अनुमान गरिएकाे छ ।

अङ्कारा, वासिङ्टन र ब्रसेल्सले आतङ्कवादी समूह घोषणा गरेको पिकेकेले सन् १९८४ देखि टर्की राज्यविरुद्ध विद्रोह गर्दै आएको छ । समुहको मूल उद्देश्य कुर्दहरूका लागि मातृभूमि बनाउनु थियो । कुर्दहरूले टर्कीको आठ करोड ५० लाख जनसङ्ख्याको लगभग २० प्रतिशत ओगट्छन् ।

Logo