काठमाडौं । भारतको अमृतसर जिल्लाको विभिन्न गाउँमा सोमबार राति विषाक्त रक्सी सेवनका कारण १४ जनाको मृत्यु भएको छ । विषादी मिश्रण गरिएको रक्सी रक्सी पिउँदा १४ जना नागरिकको निधन भएको भारतीय सञ्चार माध्यमले बताएका हुन् ।
अवैध रक्सीमा मिसाएर तयार गरिएको विषाक्त मिश्रणले ती व्यक्तिहरूको ज्यान लिएको बताइएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार अमृतसर सिभिल अस्पतालमा ६ जना बिरामीको उपचार भइरहेको छ । यस घटनाले भारतका विभिन्न राज्यहरूमा अवैध र विषाक्त रक्सी सेवनका कारण भएका मृत्युहरूको श्रृंखलालाई पुनः उजागर गरेको छ । अक्टोबर २०२४ मा बिहार राज्यमा पनि विषाक्त रक्सी सेवन गर्दा १८ जनाको मृत्यु भएको थियो ।
अमृतसरको घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको छ । यस घटनाले अवैध रक्सीको उत्पादन र वितरणमा संलग्न व्यक्तिहरूको विरुद्ध कडा कारवाही हुने बताइएको छ ।
यो घटना भंगाली, पातालपुरी, मरारी कलाँ, थेरेवाल र तलवण्डी घुम्मन गाउँमा भएको हो । अमृतसरका एसएसपी मनिन्दर सिंहले घटनमा संल्गन ४ जनालाई नियन्त्रणमा लिइसकेको बताए ।
‘हामीलाई हिजो राति करिब ९ः३० बजे जानकारी प्राप्त भयो कि यहाँ नक्कली रक्सी सेवनका कारण मानिसहरूको मृत्यु हुन थालेको छ । हामीले तत्काल कारबाही गर्यौँ र मुख्य सप्लायर परबजीत सिंहसहित ४ जनालाई हिरासतमा लिएका छौं,’ उनले भने ।





























प्रतिक्रिया