अवामी लिगको गौरवमय इतिहासदेखि निषेधसम्मको यात्रा

अवामी लिगको गौरवमय इतिहासदेखि निषेधसम्मको यात्रा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । भनिन्छ, सत्तामा नशा हुन्छ । सत्ता र शक्तिकाे मातमा मातिएपछि एक समय स्वतन्त्रताको प्रतीक र लोकतान्त्रिक आदर्शहरूको दृढ संरक्षकको रूपमा सम्मानित “बंगलादेश अवामी लिग (एएलF)” अहिले कसरी निषेधको अवस्था सम्ममा पुगेको हो ? वृत्तान्त यस्तो छ ।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भई अलग राष्ट्र बनेको बंगलादेशले कैयौ हिंस्रक आन्दोलन र राजनीतिक उथलपुथल झेल्दै आएको छ । बंगलादेशमा फेरी एकपटक राजनीतिक अनिश्चितताले ठाउँ बनाएको छ। देशको राजनीति अहिले चौबाटोमा उभिएको छ।

बंगलादेशको अन्तरिम सरकारले शनिबार राति दुई दशक लामो शासन चलाएको निर्वासित शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएको छ । नाटकीय राजनीतिक परिवर्तनमा, बंगलादेशको अन्तरिम सरकारले हिंसा र मानवता विरुद्धको अपराधको गम्भीर आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्तारुढ दल अवामी लिगलाई आधिकारिक रूपमा प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धको प्रभाव स्वरुप निर्वाचन आयोगले पनि अवामी लिगको दर्ता खारेज गरेको छ । यहि अवस्थामा पार्टीले निर्वाचनमा सहभागी हुन पाउने छैन ।

यस्तो छ अवामी लिगको यात्रा

पूर्वी पकिस्तान अवामी लिगको रुपमा सन् १९४९ मा गठन भएको बंगलादेश अवामी लिग लाई अहिले अवामी लिग भनेर चिनिन्छ । देशको सबैभन्दा पुरानो राजनीतिक दलको ईतिहास राख्ने लिगले स्तन्त्रताको आन्दोलन चलाएर १९७१ मा बंगलादेशलाई स्वतन्त्र राष्ट्र बनाएको प्रमुख श्रेय लिने गर्दछ । यो बंगलादेशको पहिलो राष्ट्रपति र शेख हसिनाको बुबा शेख मुजिबुर रहमानको पार्टी हो । जसलाई त्यहाँ बंगबन्धु भनेर पनि चिनिन्छ । १९८१ देखि लगातार उनै मुजिबका छोरी शेख हसिना पार्टीको अध्यक्ष छिन् । त्यहि अवामी लीग अहिले प्रतिबन्धमा परेको छ । हसिना, अवामी लिगकै प्रमुखको हैसियतमा ४ पटककी देशको प्रधानमन्त्री हुन् । पछिल्लो पटक अगस्ट ५ मा निर्वासनमा जानु अघिसम्म उनी २००९ देखि अविछिन्न रुपमा तेस्रो कार्यकालका लागि देशको प्रधानमन्त्री थिइन् । उनलाई बंगलादेशको शक्तिशाली नेता मानिन्थ्यो ।

शेख हसिनाको पदच्युत

हसिना सरकारले व्यवस्था गरेको आरक्षणलाई लिएर विद्यार्थीहरु असन्तुष्ट थिए । हसिनाको असमान आरक्षण नीतिका विरुद्घ ढाकास्थित विभिन्न युनिभर्सिटीका छात्रहरुले थालेको आन्दोलन पछि हिंसात्मक बन्यो जसमा हजारौँको हत्या भएको भनिएको छ । जुलाई २०२४ मा देशभर भएको ठूलो विरोध प्रदर्शन रक्तपातमा परिणत भएको थियो । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार, ती विरोध प्रदर्शनहरूमा १,४०० जनाको मृत्यु भएको थियो। सामान्य विद्यार्थी आन्दोलनमा पछि युवा जुट्दै गए। प्रदर्शन उग्र बन्दै गयो, देशभर आगजनी, तोडफोड, हत्या, साम्प्रादायिक दंगा, लुटपाटले भयावह रुप लियो। परिस्थिती भयावह भएपछि हसिना ५ अगस्ट २०२४ मा देश छोड्न बाध्य भईन । उनले भारतमा शरण लिईन् ।

भारत पुगेर बेलायत लगायत विभिन्न देशमा शरण मागेकी थिईन, नपाएपछि उनी अहिले सम्म भारतमै निर्वासित छिन् ।उनी माथी प्रदर्शनकारीहरूको हिंसात्मक दमनसँग र मानवता विरुद्धको अपराधको आरोप छ, र ढाकाले पक्राउ वारेन्ट पनि जारी गरिएको छ ।

अवामी लिगमाथि प्रतिबन्ध

अगस्ट २०२४ को घातक जनविद्रोहपछि देशलाई राजनीतिक संक्रमणकालबाट उकास्न र ताजा जनादेशका लागि निर्वाचन गराउन भनेर ८ अगस्ट २०२४ मा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको घोषण भयो । युनुस पहिलै देखि हसिनाको मुखर बिरोधि मानिन्छ । अन्तरिम सरकार बनेसंगै हसिनाको पार्टी अवामी लिग उपर प्रतिबन्ध लाग्न सक्ने आंकलन थियो । त्यस्ता माग र बहसहरु शुरु देखि भएका थिए । तर त्यसका लागि पर्याप्त कानुनी आधार नभएर होला प्रतिबन्ध पक्षधरहरुले ९ महिना लामो प्रतिक्षा र आन्दोलन गर्नु पर्यौ ।

अवामी लिग आफ्नो लोकतान्त्रिक जराबाट विचलित भएको आलोचकहरूको तर्क छ। । लिगले लोकतान्त्रिक सिद्धान्तहरूको विपरीत अभ्यासहरू गरेको आरोप लगाइन्छ । चुनावी धोखाधडी, अभिव्यक्ति स्वतन्त्रताको दमन, व्यापक भ्रष्टाचार र मानव अधिकार उल्लङ्घनको आरोप बंगलादेश राष्ट्रवादी पार्टी र जमात–ए–इस्लामी जस्ता उनका घरेलु विपक्षी समूहले लगाउाँदै आएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूका साथै बंगलादेशी डायस्पोराका सदस्यहरूले पनि यो बिषय उठाएका देखिन्छन् ।

तर आतंकवाद विरोधी ऐन अन्तर्गत १० मे २०२५ मा पार्टीको गतिविधिहरू प्रतिबन्धित गरेको बंगलादेशको अन्तरिम सरकारको यो घोषणा एकदम नाटकीय स्वरुपमा आएको हो । लिगको प्रतिबन्धका लागि अन्त्रिम सरकारले आतंकवाद बिरोधी ऐन संशोधन गर्नु परेको छ । जसमाथी धेरैको प्रश्न उठको छ। अवामी लिगका सबै गतिविधिहरू – सामाजिक सञ्जाल र अनलाइन सञ्चार सहित – पार्टीको मुद्दा पूरा नभएसम्म आतंकवाद विरोधी ऐन अन्तर्गत स्थिर गरिएको छ।

हिंसा र मानवता विरुद्धको अपराधको गम्भीर आरोपमा यो प्रतिबन्ध, राष्ट्रिय नागरिक पार्टीका (एनसिपी) कोे अल्टिमेटम पछि आएको हो । उक्त पार्टीले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मो युनुसको आवास अगाडी प्रदर्शन गर्र्दै शनिबार सम्मको अल्टिमेटम दिएको थियो । पार्टीका अनुसार मे ४ मा अवामी लिगका समर्थकहरूले जुलाईमा भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहार र नयाँ राष्ट्रिय नागरिक पार्टीका प्रमुख आयोजक, हसनत अब्दुल्लाहलाई ढाका जाने क्रममा गाजीपुरमा भन्ने क्षेत्रमा आक्रमण गरेको आरोप लगाइएको थियो। आक्रमणको एक हप्ता भित्रै प्रतिबन्ध लगाइएको छ ।

प्रतिबन्धको प्रतिक्रिया

प्रतिबन्ध उपर देश भित्र र बाहिर पनि मिश्रित प्रतिक्रिया देखिएका छन् । अवामी लिगसँगै हसिनाको भविष्य पनि अब अन्धकारमा भएको भनिन्छ । तर यो प्रकृया अलोकतान्त्रिक भएको मान्नेहरु पनि छन्।

प्रतिबन्ध पछि बंगलादेशमा लोकतन्त्रको भविष्यको बारेमा व्यापक चिन्ताहरू उत्पन्न हुदैछ । राष्ट्रको जन्म र राजनीतिक विकाससँग गहिरो रूपमा जोडिएको पार्टीले अब अधिनायकवाद, भ्रष्टाचार र असहमतिलाई दमन गर्ने आरोपहरूको सामना गरिरहेको छ। यसको ऐतिहासिक विरासत र वर्तमान समयका विवादहरू बीचको यो स्पष्ट भिन्नताले न्याय र लोकतान्त्रिक जवाफदेहिताको सवालमा प्रश्न यटेको छ । बंगलादेश इतिहासको संरक्षणलाई सन्तुलनमा राख्न सक्ने नसक्ने जस्ता आधारभूत प्रश्नहरूले घेरिएको छ। यसले राजनीतिक दमनको उदाहरण पनि स्थापित गर्न सक्ने सम्भावना पनि बनिरहन्छ ।

हसिना पहिला पनि निर्वासित जिवन बिताएकी नेतृ हुन् । उनले जिवनकालमा अनेक आरोह अवरोह देखेकि छन् । बुबाको हत्या हुनेगरि भएको सैनिक कु मा ज्यान जोगाएकि उनको देशको आर्थिक विकासमा अहम योगदान रहेको मानिन्छ । अहिले पनि उनका समर्थकको संख्या राम्रो रहेको र आगामी निर्वाचनमा पुनः बलियो जनाधार स्थापित गर्न सक्ने अनुमान गरिन्छ । करिब १० प्रतिशत गैर मुस्लिम जनसंख्यामा अरुभन्दा हसिनाको पकड राम्रो मानिन्छ । लामो समय सत्तामा रहेको कुनै सबल राजनीतिक दललाई संवैधानिक निर्वाचन प्रक्रियाबाट बञ्चित गरिनुले देशलाई बिभाजन र अस्थिरता तर्फ लैजान सक्ने धेरैले भनेका छन् । यसलाई जनताको प्रतिनिधि छान्न पाउने अधिकार माथीको प्रहार पनि बिश्लेषण गरिएको छ । अवामी लिग पार्टीले पनि निर्णयलाई “अवैध र राजनीतिक प्रतिशोध” भनेको छ ।

निर्वाचन कहिले ?

अन्तरिम सरकारको गठन नै राज्यलाई संक्रमणकालीन अवस्थाबाट उकास्नका लागि हुने गर्दछ । देशमा विकसित राजनीतिक प्रतिकुलताको ब्यबस्थापन गर्दै निर्वाचन मार्फत ताजा जनादेश प्राप्त गर्नु अन्तरिम सरकारको मुख्य उद्देश्य हुने गर्दछ ।

तथापी लिगलाई निर्वाचनमा प्रतिबन्ध लगाएको अन्तरिम सरकारले ९ महिना पछि पनि निर्वाचन गराउने कुनै सुरसार गरेको पाइँदैन । प्रकृयामा ब्यापक सुधार गर्नुपर्ने भन्दै युनुस सरकारले निर्वाचनलाई धकेलिरहेको छ । लामो समयसम्म जननिवार्चित सरकार नपाए देश निरंकुशतामा जाने खतरा बढेर जान्छ ।

अवामी लिग पछिको अर्को ठुलो पार्टी बंगलादेश नेशनलिष्ट पार्टी लगायतले अविलम्ब निर्वाचनको माग गरिरहेको छ । तर तत्कालेै निर्वाचन हुन सक्ने कुनै आधार तय भएको पाईदैन । आवद्यिक निर्वाचनले नै लोकतन्त्र स्थापित गर्ने भएकोले बंगलादेशमा सृजित बर्तमान परिस्थितीको दिर्घकालिन समाधान का लागि पनि निर्वाचन नै अन्तिम बिकल्प हुने छ । जसमा सबैको सहभागिता सुनिश्चित हुनु जरुरी हुनेछ । जहाँ फरक समुदाय र विचारको.प्रतिनिधित्वले लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दछ ।

Skip This
Skip This
Logo