विद्युतीय युगमा छिर्दै नर्वेः पाँच महिनामा ९२ प्रतिशत गाडी विद्युतीय

विद्युतीय युगमा छिर्दै नर्वेः पाँच महिनामा ९२ प्रतिशत गाडी विद्युतीय

केन्द्रबिन्दु
21
Shares

ओस्लो । युरोपका अधिकांश देशहरूमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएको बेला नर्वेमा भने यसको माग फेरि बढेको देखिएको छ । सोमबार सार्वजनिक भएको उद्योगसम्बन्धी तथ्याङ्कले यसबारे जानकारी दिएको हो ।

नर्वेली उपभोक्ताहरू टेस्लाप्रति पुनः आकर्षित भएका छन्, जसको मुख्य कारण कम्पनीले शून्य ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनु र नयाँ मोडेल ‘वाई’ बजारमा ल्याउनु रहेको बताइएको छ । यो मोडेल पछिल्ला तीन महिनादेखि नर्वेमा सबैभन्दा धेरै बिक्री भएको गाडी बनेको छ ।

नर्वे विद्युतीय सवारी साधनको प्रयोगमा विश्वमै अगाडि रहेको देश हो । नर्वेली सडक महासङ्घ (ओएफभी) का अनुसार, मे महिनामा नर्वेमा दर्ता भएका नयाँ गाडीमध्ये ९३ दशमलव ९ प्रतिशत विद्युतीय थिए । यस वर्षको पहिलो पाँच महिनामा यो अनुपात ९२ दशमलव ७ प्रतिशत रहेको छ ।

मे महिनामा टेस्लाले नर्वेमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीको उपाधि पुनः प्राप्त गरेको छ । सो महिनामा टेस्लाको बिक्री तीन गुणाले बढेर कुल नयाँ गाडीको १८ दशमलव २ प्रतिशत पुगेको हो ।

यद्यपि, वर्षको पहिलो पाँच महिनामा टेस्लाको कुल बिक्री ८ दशमलव ३ प्रतिशत मात्र बढेको छ, जुन समग्र गाडी बजारको ३० दशमलव ६ प्रतिशत वृद्धिको तुलनामा कम हो । सो अवधिमा टेस्लाको बजार हिस्सा १२ दशमलव ९ प्रतिशत रहेको छ, जसले यसलाई जर्मन कम्पनी भोल्क्सवागनपछि दोस्रो स्थानमा राखेको छ ।

युरोपेली सङ्घभित्र भने अप्रिल महिनामा टेस्लाको बिक्री आधा घटेको थियो । त्यहाँ टेस्लाको बजार हिस्सा घटेर एक दशमलव एक प्रतिशतमा झरेको देखिन्छ । यसको कारण चिनियाँ गाडी कम्पनीहरूको तीव्र प्रतिस्पर्धा र केही उपभोक्ताहरूले कम्पनीका मालिक इलन मस्कको राजनीतिक विचार तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धप्रति असन्तुष्टि देखाउनु हो भनिएको छ ।

ओएफभीका निर्देशक ओइभिन्ड सोलबर्ग थोर्सेनले भने,“नर्वेमा टेस्लाको बिक्री अवस्थाले अन्य युरोपेली मुलुकहरूको तुलनामा फरक र विशेष स्थिति देखाउँछ, जहाँ यसको माग घट्दो क्रममा छ ।”

प्रयोग गरिएको गाडी व्यवसायमा आवद्ध विश्लेषक जोनाथन पारले टेलिभिजन च्यानल दुईसँग भने,“नर्वेली उपभोक्ताका लागि मूल्य सबैभन्दा महत्वपूर्ण कुरा हो । धेरै नर्वेलीहरू इलन मस्कलाई मन नपराए पनि टेस्ला चढ्न कुनै हिचकिचाहट मान्दैन ।”

यद्यपि, केही नर्वेली सञ्चारमाध्यमहरूले पछिल्ला महिनाहरूमा केही टेस्ला प्रयोगकर्ताहरूले आफ्नो गाडी बेच्न थालेको र भविष्यमा टेस्ला नकिन्ने निर्णय लिएको समाचार प्रकाशित गरेका छन् । -एएफपी

Logo