काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् ।
सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेखे, “एससीओ शिखर सम्मेलनको कार्यसूचीपछि राष्ट्रपति पुटिनसँग म द्विपक्षीय बैठक स्थलमा सँगै गइरहेको थिएँ । उहाँसँगका वार्तालापहरू सधैँ गहन हुन्छन् ।”
यो भेटघाट भारत–रुसबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास भइरहेको अवस्थामा भएको हो । जब वाशिङ्टनसँगको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । अमेरिकाले हालै भारतीय वस्तुमा ५० प्रतिशतसम्म शुल्क लगाएको छ, जसमा रसियाबाट आयात गरिएको सस्तो क्रुड तेलका लागि २५ प्रतिशत अतिरिक्त दण्ड पनि समावेश गरिएको छ ।
ह्वाइट हाउसका व्यापार सल्लाहकारले पटक–पटक नयाँ दिल्लीलाई “क्रेमलिनको लाण्ड्री”को रुपमा काम गरिरहेको आरोप लगाउँदै आलोचना गरेका छन् र भारतको रुस तथा चीनसँगको नजिकिँदो सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले क्षेत्रीय व्यापार र आवागमन सुदृढ गर्न भारतको प्रतिबद्धता दोहो-याए । उनले चाबहार बन्दरगाह र इन्टरनेशनल नर्थ–साउथ ट्रान्सपोर्ट कोरिडोरजस्ता परियोजनालाई अफगानिस्तान र मध्य एसियासँगको सम्पर्क बढाउन महत्वपूर्ण पहलका रुपमा उल्लेख गरे ।
“भारतले सधैँ विश्वास गरेको छ कि मजबुत सम्पर्कले व्यापारलाई मात्र होइन, विश्वास र विकासका ढोका पनि खोल्छ,” मोदीले भने । उनले थपे कि भारतको २०२३ को एससीओ अध्यक्षताका क्रममा स्टार्टअप, नवप्रवर्तन, युवा सशक्तिकरण, डिजिटल समावेशीकरण र साझा बौद्ध धरोहरजस्ता नयाँ क्षेत्रहरूलाई प्राथमिकतामा राखिएको थियो ।
राष्ट्रपति पुटिनले एससीओको अन्तर्राष्ट्रिय मामिलामा बढ्दो प्रभावको प्रशंसा गर्दै भने, “एससीओभित्रको संवादले पुराना यूरोप–केन्द्रित तथा यूरो–एटलान्टिक मोडेललाई विस्थापित गर्दै नयाँ युरेशियन सुरक्षा प्रणाली निर्माणको आधार तयार गर्न सहयोग गरेको छ ।”
उनले एससीओ मुलुकबीचको व्यापारमा राष्ट्रिय मुद्राको बढ्दो प्रयोगलाई समेत जोड दिए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि बैठकलाई सम्बोधन गर्दै न्याय र निष्पक्षता कायम गर्न आह्वान गरे। उनले भने, “हामीले द्वितीय विश्वयुद्धबारे सही ऐतिहासिक दृष्टिकोण प्रवद्र्धन गर्नुपर्छ र शीतयुद्ध मानसिकता, ब्लक टकराव र जबर्जस्तीको अभ्यासको विरोध गर्नुपर्छ ।”
सन् २०२५ को एससीओ शिखर सम्मेलनले विश्व शासन प्रणालीमा बहुध्रुवीयताको महत्व बढ्दो रहेको प्रष्ट पारेको छ । विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक शुल्क नीति र व्यवहारिक कूटनीतिले उसका परम्परागत सहयोगीहरूलाई झन् टाढा बनाएको छ भने भारत, रुस र चीनजस्ता मुलुकलाई अझ नजिक्याएको छ । -एएनआई





























प्रतिक्रिया