बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व अहिले ‘शान्ति वा युद्ध’, ‘संवाद वा टकराव’ र ‘जीत वा हार’ को महत्वपूर्ण दोसाँधमा उभिएको बताएका छन् ।
दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव (चीनले ‘जापानी आक्रमणको युद्ध’ को विजय दिवस) को अवसरमा आयोजित विशाल सैन्य परेडलाई सम्बोधन गर्दै सीले यस्तो धारणा राखेका हुन् ।
उनले भने,’इतिहासले हामीलाई चेतावनी दिन्छ कि मानवता एकसाथ उठ्छ र पतन हुन्छ। चीन कहिल्यै पनि धम्की दिनेहरूबाट डराएको छैन र डराउँदैन । सधैं अगाडि बढेको छ।’ उनले चीनका जनतालाई इतिहास सम्झन र जापान विरुद्ध लडेका दिग्गजहरूलाई सम्मान गर्न अपील गरे।
यस परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ-उन लगायत दर्जनौं विश्व नेताहरू सहभागी भएका थिए । तियानमेन स्क्वायरमा आयोजित यो भव्य कार्यक्रमलाई चीनले आफ्नो बढ्दो सैन्य शक्ति र पश्चिम विरोधी राष्ट्रहरूसँगको एकताको प्रदर्शनको रूपमा देखाएको छ। सी, पुटिन र किमले रेड कार्पेटमा सँगै हिँड्दाको तस्बिरले पश्चिमा देशहरूलाई चुनौती दिने सन्देश दिएको विश्लेषकहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक नीति र अस्थिर विदेश नीतिले अमेरिका र उसका मित्र तथा प्रतिद्वन्द्वी दुवैसँगको सम्बन्धमा तनाव बढाएको समयमा यो घटना भएको हो।
सैन्य परेडमा चीनले आफ्नो अत्याधुनिक सैन्य उपकरण र प्रविधिहरू प्रदर्शन गर्यो। यसमा ट्याङ्क, ड्रोन, लामो दूरीका र आणविक क्षमता भएका मिसाइलहरू, लडाकु विमान र स्टील्थ एयरक्राफ्टहरू समावेश थिए। धेरै नयाँ हतियारहरू पहिलो पटक सार्वजनिक रूपमा देखाइएको थियो। चिनियाँ सैन्य अधिकारीहरूका अनुसार, यी हतियारहरूले विशेष गरी पश्चिमी प्रशान्त क्षेत्रमा गस्ती गर्ने अमेरिकी नौसेनाका लागि चिन्ताको विषय बनेका छन्।
बेइजिङले यो परेडलाई अन्य देशहरूसँगको एकताको प्रदर्शनको रूपमा पनि प्रस्तुत गरेको छ। विश्लेषकहरूका अनुसार, किमको उपस्थिति विशेष गरी महत्वपूर्ण छ किनभने ६ वर्षमा उनको यो दोस्रो विदेश यात्रा मात्र हो र सी र पुटिनसँग उनी पहिलो पटक एउटै मञ्चमा देखा परेका हुन् ।
यस घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालै प्रतिक्रिया जनाएका थिए। ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ अकाउन्टमा लेखे, “राष्ट्रपति सी र चीनका अद्भुत जनताको लागि महान् र दिगो उत्सवको दिन होस्। तपाईहरूले संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै गर्दा भ्लादिमिर पुटिन र किम जोङ-उनलाई मेरो न्यानो अभिवादन दिनुहोला।”
राजनीतिक विश्लेषकहरूले यो परेडलाई सीको पश्चिमी नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिने राष्ट्रहरूमाथि बढ्दो प्रभावको प्रमाणको रूपमा हेरेका छन्। जापान, युरोप र अमेरिकाले आफ्नो कोर राष्ट्रिय हितलाई चुनौती दिने विचार गर्दा सावधानी अपनाउनुपर्ने सन्देश चीनले दिन खोजेको विश्लेषकहरूको भनाइ छ।
यस परेडमा इरानी राष्ट्रपति मसउद पेजेस्कियान र म्यानमारका जम्मुका प्रमुख मिन आङ हलिङ पनि सहभागी भएका थिए। तर कुनै पनि प्रमुख पश्चिमी नेताहरू भने सहभागी भएनन्।































प्रतिक्रिया