काठमाण्डौँ। अमेरिकाले भेनेजुएलाको तेल बोकेको ‘मारिनेरा’ नामक रूसी ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएको छ। अमेरिकी कोस्ट गार्ड र विशेष सैन्य बलले हप्तौँको खोजीपछि जहाज कब्जा गरेका हुन्। यसअघि अमेरिकी प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि अमेरिकाले तेल आपूर्ति नियन्त्रणका लागि आक्रामक कदम चाल्दै आएको छ ।
अमेरिकी अधिकारीहरूले जहाजले प्रतिबन्धित तेल ढुवानी गर्न नक्कली रूपमा रूसी झन्डा प्रयोग गरेको दाबी गरेका छन्। ह्वाइट हाउसका अनुसार यो कदम अमेरिकी राष्ट्रिय सुरक्षा र तेल आपूर्ति नियन्त्रण नीतिको हिस्सा हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी हितअनुकूल भेनेजुएलाको तेल व्यवस्थापन गर्ने घोषणा गर्दै, यसबाट प्राप्त रकम अमेरिकी कृषि उत्पादन र औषधि खरिदमा प्रयोग हुने बताएका छन्।
रूसले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भन्दै कडा निन्दा गरेको छ । मस्कोले जहाज र चालकदललाई सम्मानपूर्वक छोड्न आग्रह गरेको छ र अस्थायी रूपमा रूसी झन्डा प्रयोग गर्न अनुमति दिएको जनाएको छ। चीनले पनि अमेरिकाको कदमलाई “धम्की र दबाबको राजनीति” भनेको छ । बेलायतले पनि कारबाहीमा सहयोग गरेको बताइएको छ ।
यो घटनाले अमेरिका, रूस र चीनबीचको तनाव बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्ला केही हप्तामा अमेरिकाले भेनेजुएलाको तेल बोकेको पनामाको ध्वजावाहक ‘एम सोफिया’ ट्यांकरसमेत नियन्त्रणमा लिइसकेको छ ।





























प्रतिक्रिया