काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधावीस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकले भोगिरहेका शारीरिक तथा मानसिक स्वास्थ्य समस्याबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। श्रमिकको स्वास्थ्य अवस्था, समस्या र समाधानका उपायबारे नेपाली चिकित्सकहरूसँग छलफल गरिएको दूतावासले जनाएको छ।
कार्यक्रममा यूएईमा कार्यरत २५ जना नेपाली चिकित्सक सहभागी थिए। चिकित्सकहरूले नेपाली श्रमिकमा शारीरिकसँगै मानसिक समस्या पनि व्यापक रूपमा देखिने गरेको उल्लेख गरे। उनीहरूका अनुसार उच्च रक्तचाप, हृदयघात, मिर्गौला सम्बन्धी समस्या तथा मानसिक तनावका कारण महिलासम्बन्धी विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन्। विशेषगरी मानसिक समस्या बढी गम्भीर रूपमा देखा परेको चिकित्सकहरूको भनाइ छ।
चिकित्सकहरूले स्वास्थ्य चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, स्वास्थ्यलाई बेवास्ता गर्ने बानी, स्वास्थ्य बिमाबारे जानकारी नहुनु, भाषागत समस्या तथा खाडी मुलुकको मौसम र कार्य वातावरणबारे पर्याप्त जानकारी नहुनुले श्रमिक समयमै स्वास्थ्य जाँच गर्न अस्पताल नजाने अवस्था रहेको बताए।
उनीहरूले स्वास्थ्य समस्या न्यूनीकरणका लागि श्रमिकलाई कम्तीमा छ महिनामा एकपटक नियमित स्वास्थ्य जाँच गर्न, पर्याप्त पानी पिउन, मदिरा सेवन नगर्न र स्वास्थ्य बिमाबारे जानकारी लिन सुझाव दिएका छन्। साथै, स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको उनीहरूको धारणा छ ।
मानसिक स्वास्थ्य समस्या समाधानका लागि नेपाल सरकारसँग समन्वय गरेर टेलिमेडिसिन सेवा सुरु गर्नुपर्ने सुझाव पनि चिकित्सकहरूले दिएका छन्। यसले यूएईमा रहेका नेपाली श्रमिकलाई सहज रूपमा परामर्श र उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।































प्रतिक्रिया