भारतसँग जोडिने सीमा क्षेत्रमा ३९४ किमि राजमार्ग बनाउँदै चीन

भारतसँग जोडिने सीमा क्षेत्रमा ३९४ किमि राजमार्ग बनाउँदै चीन

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। चीनले भारतसँग जोडिएका संवेदनशील सीमावर्ती क्षेत्रमा पूर्वाधार विस्तारलाई तीव्र बनाउने योजना अघि सारेको छ । आगामी १५औँ पञ्चवर्षीय योजना अन्तर्गत शिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा ३९४ किलोमिटर लामो नयाँ राजमार्ग निर्माण गर्ने तयारी गरिएको छ ।

हङकङस्थित साउथ चाइना मर्निङ पोस्ट का अनुसार उक्त राजमार्ग तियानशेन पर्वत शृंखलाको उत्तरी र दक्षिणी भाग जोड्ने गरी निर्माण हुनेछ । परियोजना चीनको राष्ट्रिय विधायिका नेसनल पिपुल्स कंग्रेस (एनपीसी) बाट स्वीकृतिको प्रक्रियामा छ ।

यो सडक विवादित अक्साई चीन क्षेत्र नजिकको रणनीतिक मार्गसँग समानान्तर बन्ने बताइएको छ । निर्माणाधीन दुशान्जी–कुका राजमार्ग सन् २०३२ सम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।

योजनामा तिब्बततर्फ जाने तीनवटा विद्यमान राजमार्गको स्तरोन्नति गर्ने प्रस्ताव पनि समेटिएको छ । चीनले आफ्नो नयाँ पञ्चवर्षीय योजनामा आर्टिफिसियल इन्टेलिजेन्स, विद्युतीय सवारी र ब्याट्री प्रविधिलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

यसअघि १४औँ पञ्चवर्षीय योजनाको अवधिमा चीनले तिब्बतमा ब्रह्मपुत्र नदीमा विश्वकै ठूलो बाँध निर्माण सुरु गरेको थियो । यस्ता परियोजनाले भारत र बंगलादेशजस्ता देशमा सम्भावित प्रभावबारे चिन्ता बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Logo