दुबई विमानस्थल नजिक ड्रोनआक्रमण : इन्धन ट्याङ्कीमा आगलागी, सबै उडान स्थगित

दुबई विमानस्थल नजिक ड्रोनआक्रमण : इन्धन ट्याङ्कीमा आगलागी, सबै उडान स्थगित

केन्द्रबिन्दु
21
Shares

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक आइतबार बिहान ड्रोन हमला भएको छ। आक्रमणले विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगो लागेको छ । सुरक्षाको दृष्टिले तत्काल विमानस्थलका सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको दुबई नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार आगो पूर्ण नियन्त्रणमा आएको छ। तर यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न तत्काल कदम चालिएको थियो। घटनास्थल नजिक सुरक्षा बलको व्यापक उपस्थिति राखिएको थियो र विमानस्थलको केही क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो।

दुबई मिडिया अफिसले पनि आगो नियन्त्रणमा आएको जानकारी दिएको छ। तर प्रशासनले जोखिम कम गर्न उडानहरू रोक्ने निर्णय गरेको बताइएको छ। यस घटनाले विमानस्थलको दैनिक उडान तालिकामा अवरोध ल्याएको छ। केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ भए भने केही अन्य उडानहरू धावनमार्गमै रोकिएका वा अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

आक्रमणपछि विमानस्थलका टर्मिनलहरू खाली गरिएका छन्। प्रत्यक्षदर्शीका अनुसार सयौँ यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने उडान पर्खिरहेका करिब १,००० यात्रुहरूलाई एसेम्बली प्वाइन्टमा भेला गरिएको छ।

एमिरेट्स एयरलाइन्सले सामाजिक सञ्जालमा यात्रुहरूलाई अहिले विमानस्थल नआउन आग्रह गरेको छ। एयरलाइन्सले भन्यो, “हाम्रा यात्रु र चालक दलको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो।” यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न सल्लाह दिइएको छ।

हालसम्म ड्रोन आक्रमणबाट कुनै मानवीय क्षति रिपोर्ट भएको छैन। सुरक्षा निकायले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

Logo