हर्मुजमा तनाव चुलियोः बारुदी सुरुङ बिछ्याउने डुङ्गामाथि आक्रमण गर्न ट्रम्पको आदेश

हर्मुजमा तनाव चुलियोः बारुदी सुरुङ बिछ्याउने डुङ्गामाथि आक्रमण गर्न ट्रम्पको आदेश

केन्द्रबिन्दु
30
Shares

एजेन्सी । विश्वकै अत्यन्त संवेदनशील समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’मा तनाव झन् बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ बारुदी सुरुङ बिछ्याउने कुनै पनि जहाज वा साना डुङ्गामाथि तत्काल आक्रमण गर्न अमेरिकी नौसेनालाई निर्देशन दिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत यस्तो आदेश सार्वजनिक गर्दै अब कुनै पनि प्रकारको हिचकिचाहट नहुने बताएका छन्। उनका अनुसार अमेरिकी ‘माइन स्वीपर’ टोलीले हर्मुज क्षेत्रमा राखिएका बारुदी सुरुङ हटाउने काम पनि तीव्र रूपमा गरिरहेको छ।

यसबीच, इरानले भने अमेरिकाको दबाब अस्वीकार गर्दै रणनीतिक जलमार्ग बन्द राख्ने संकेत दिएको छ। अमेरिकाले आफ्नो बन्दरगाहमाथि लगाएको नाकाबन्दी नहटाएसम्म सीमित स्वीकृत जहाजबाहेक अन्यलाई आवतजावत गर्न नदिने इरानको अडान रहेको छ।

ट्रम्पले हर्मुजमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गर्दै इरानले शान्ति सम्झौतामा सहमति जनाएपछि मात्र अवस्था सामान्य हुने बताएका छन्। उनले इरानभित्र नेतृत्व स्पष्ट नभएको आरोपसमेत लगाएका छन्।

हर्मुज जलडमरू विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ, जहाँको अस्थिरताले विश्व अर्थतन्त्र र इन्धन बजारमा प्रत्यक्ष असर पार्ने गर्दछ। पछिल्लो घटनाक्रमले मध्यपूर्वमा थप द्वन्द्व चर्किने संकेत देखिएको छ।

Logo