नेपालमै भेटियो अर्बौ मूल्य पर्ने युरेनियम । बालेन सरकारले अमेरिकालाई युरेनियम खानी दिने तयारी गरेकै हो ? २ किलो युरेनियमसहित ८ जना पक्राउ परेपछि खुल्यो यस्तो रहस्य
पछिल्लो समय नेपाली मिडिया र समाजमा यस्ता समाचारहरु निकै आइरहेका छन् । अझ नेपाल तथा विश्वमा नै प्रत्यक्ष प्रभाव पारिरहेको अमेरिका–इरान–इजरायल युद्ध पनि युरेनियमकै कारण भईरहेको भन्ने कुरामा त तपाई अवगत नै हुनुहुन्छ होला । त्यसो भए तपाईलाई थाहा छ त के हो युरेनियम भनेको ? नेपालमा युरेनियम कहाँ–कहाँ पाइन्छ ? सर्वप्रथम नेपालमा कहिले युरेनियमको खोजी गरिएको थियो ? नेपालको मुस्ताङ्गलगायत विभिन्न स्थानमा मिडियम रेञ्जको युरेनियम भेटियो भन्ने खबर साँच्चै सत्य नै हो त ? संसारमा सबैभन्दा धेरै युरेनियम कहाँ पाइन्छ ? अमेरिका, चीन र रसियालगायत विश्वकै शक्तिशाली राष्ट्रहरुसँग कति मात्रामा युरेनियम रहेका छन् त ?
युरेनियम । एउटा यस्तो शब्द जसलाई सुन्नेबित्तिकै परमाणु बम, हिरोसिमाको विनाश, ऊर्जा क्रान्ति र अब नेपालको सन्दर्भमा मुस्ताङको लोमान्थाङदेखि मकवानपुरको तिनभंगालेसम्मका खानीको सपना–डर दुवै जगाउँछ । यो धातु पृथ्वीको गर्भमा लामो समयदेखि ‘सुतिरहेको’ छ ।
नेपालमा युरेनियमको केस पहिलो पटक सन् २०२१ को मार्चमा काठमाडौंको बौद्धबाट प्रहरीले साढे २ किलो अप्रशोधित युरेनियम बरामद गरेको भनेर आएको थियो । उक्त केसमा साढे २ किलो अप्रशोधित युरेनियमसहित चार जना पक्राउ परेका थिए । उनीहरूले घरको कुनामा २० वर्षदेखि लुकाएर राखेको सामान बेच्ने प्रयास गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
पक्राउ परेकामध्ये एक महिलाले आफ्ना ससुराले भारतको कोइला खानीबाट उक्त अप्रशोधित युरेनियम ल्याएको दाबी गरेकी थिइन् । यो घटनाले नेपालमा रेडियोधर्मी पदार्थको नियमन गर्नुपर्ने आवश्यकता देखाएकाले संसद्ले २०७७ मा ‘रेडियोधर्मी पदार्थसम्बन्धी ऐन’ पारित ग¥यो, जसअन्तर्गत बिना अनुमति युरेनियम भण्डारण वा ढुवानी गरेमा ५ देखि १० वर्ष कैद र ७ देखि १२ लाख जरिवाना हुनेछ ।
युरेनियम भनेको के हो ?
युरेनियम एक भारी धातु हो । यसलाई रासायनिक प्रतीक ‘यू’ र परमाणु संख्या ९२ बाट चिनिने गरिन्छ । यो पृथ्वीमा प्राकृतिक रूपमा पाइने सबैभन्दा भारी तत्व हो । युरेनियमलाई ‘मेटल अफ होप’ अर्थात आशाको धातु पनि भनिन्छ किनकि यसले ऊर्जाको नयाँ युग ल्याउने सम्भावना बोकेको हुन्छ । चमकदार सेतो–रजत रङको हुने युरेनियम हावासँग प्रतिक्रिया हुना साथ अक्सिडाइज भएर कालो हुन्छ । खुला हावामा राख्दा स्वतः जल्ने भएकाले यसलाई अत्यन्त सक्रिय धातु पनि भनिन्छ । यसका परमाणु अस्थिर हुन्छन् र अल्फा, बिटा, गामा किरण फ्याँक्छन् ।
युरेनियमको खोज सन् १७८९ मा जर्मन रसायनशास्त्री मार्टिन क्लाप्रोथले गरेका थिए । उनले युरेनाइट खनिजबाट यो तत्व पत्ता लगाएर ग्रिक देवता युरेनसको नामबाट नामकरण गरेका हुन् । सन् १८९६ मा एन्टोइन हेनरी बेकरेलले युरेनियमबाट रेडियोएक्टिभिटी पत्ता लगाएका थिए भने पोल्यान्डकी वैज्ञानिक म्याडम क्युरी र उनको पति पियरेले युरेनियम अयस्कबाट रेडियम र पोलोनियम निकालेका थिए ।
त्यस्तै सन् १९०५ मा विज्ञानका पिता भनेर चिनिएका अल्बर्ट आइन्स्टाइनको ई इज्कल्टु एमसी स्क्वायर सिद्धान्त प्रतिपादन गरेर पदार्थलाई ऊर्जामा रूपान्तरण गर्ने बाटो खोलिदिएका थिए । त्ययसैगरी सन् १९३८ मा ओट्टो हान र फ्रिट्ज स्ट्रासमानले युरेनियमको नाभिकीय विच्छेदन पत्ता लगाउँदा दोस्रो विश्वयुद्धमा म्यानहट्टन प्रोजेक्टले यस पदार्थलाई विश्व विनास गर्ने हतियार बनायो । प्राकृतिक युरेनियममा ९९.३ प्रतिशत युरेनियम २३८ र ०.७ प्रतिशत युरेनियम २३५ हुन्छ ।
युरेनियम २३५ मात्र फिसाइल पाइन्छ जसलाई न्युट्रोनले ठोकेर न्युक्लियर फिसन अर्थात् विच्छेदन गराउन सकिन्छ । यही गुणले युरेनियम २३५ लाई परमाणु ऊर्जा र हतियार दुवैका लागि उपयोगी बनाउँछ ।
विश्वमा ८ मिलियन टनभन्दा बढी युरेनियम भएको आंकलन गरिएको छ, जसमध्ये सबैभन्दा धेरै ठूलो भण्डार अष्ट्रेलियासँग अर्थात ३.६ मिलियन टन, त्यसपछि कजाकिस्तानसँग २.९ मिलियन टन, क्यानडासँग १.७ मिलियन टन, रसियासँग १.२ मिलियन टन र नामिबियासँग पनि उल्लेख्य युरेनियम रहेको छ ।
नेपालको सन्दर्भमा खानी तथा भू–गर्भ विभागको रिपोर्टअनुसार मुस्ताङको लोमान्थाङ क्षेत्रमा १० किलोमिटर लामो र ३ किमी चौडा क्षेत्रमा मध्यम गुणस्तरको युरेनियम पाइएको छ भने मकवानपुरको तिनभंगाले, बैतडी, बझाङको बगाबगर, गोरखा र मनाङमा पनि रेडियोमेट्रिक सर्वेक्षणले युरेनियमको सङ्केत देखाएको छ ।
यसबारे सन् २०१६ मा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले मुस्ताङ पुगेर पुष्टि नै गरेको थियो । त्यस्तै केही समयअघि भएको अध्ययनले यो क्षेत्रमा ‘मध्यम ग्रेड’ को युरेनियम रहेको पुष्टि गरेता पनि अझै विस्तृत मात्रा र गुणस्तरको यकिन भने भएको छैन ।
खानी विभागका अनुसार नेपालमा युरेनियम ‘रणनीतिक खनिज’ हो अर्थात राष्ट्रिय सुरक्षा, आर्थिक विकास र आधुनिक प्रविधिका लागि अपरिहार्य तर आपूर्तिमा जोखिम भएका खनिजका रुपमा बुझिएको छ । अन्तर्राष्ट्रिय बजारमा एक किलो शुद्ध युरेनियमको मूल्य करोडौं रुपैयाँ पुग्छ । मुस्ताङको खानीबाट वार्षिक १० खर्ब आम्दानीको अनुमान तत्कालीन मन्त्री सोमप्रसाद पाण्डेले गरेका थिए ।
हाललाई यो खानी उत्खनन् गर्नु नेपालका लागि सपना मात्र नभएर चुनौती पनि हो । किनकी नेपालसँग न त दक्ष जनशक्ति छ, न अत्याधुनिक उपकरण तसर्थ नेपालका लागि उत्खनन महँगो र प्राविधिक रूपमा जटिल हुनुका साथै मुस्ताङ उच्च भूकम्पीय जोखिम क्षेत्र भएकाले रिस्क पनि उत्तिकै रहेको छ । त्यस्तै नेपाल आणविक ऊर्जा एजेन्सी आईएईएको सदस्य भएकाले अन्तर्राष्ट्रिय नियमन ‘सेफगाड्र्स’ को पालना पनि गर्नुपर्छ । अर्थात युरेनियम निर्यात गर्दा हतियार बनाउने जोखिम रोक्न ‘नन–प्रोलिफरेसन’ सन्धिको पालना गर्नुपर्दछ ।
त्यति मात्र होइन नेपालको हिमाली भू–गोलमा खानी खोल्दा पानी, माटो र हावा प्रदूषित हुन सक्छ । स्थानीय जनजाति र पर्यटनमा असर पर्छ । भू–राजनीतिक रूपमा नेपाल भारत र चीनबीचको ‘बफर’ हो । चीनले मुस्ताङ नजिकै आफ्नो चासोसमेत देखाएको छ । भारतले पनि सीमा क्षेत्रमा निगरानी बढाएको छ । यस्तो अवस्थामा नेपालले सन्तुलित नीति लिन नसकेमा ‘बिग प्लेयर्स’ बीचको खेलौना बन्न सक्छ ।
केही समयअघि सामाजिक सञ्जालहरुमा मुस्ताङको ३० वर्ग किलोमिटर क्षेत्रलाई ‘मुस्ताङ स्पेसल जोन’ बनाएर अमेरिका र अस्ट्रेलियालाई प्राविधिक सहयोग दिने तयारी भएको भन्दै सामाजिक सञ्जालहरुमा अपुष्ट समाचारहरु प्रकाशित भएका थिए । त्यति मात्र होइन एमसिसी र एसपिपी जस्ता परियोजनासँग जोडेर षड्यन्त्र सिद्धान्त पनि फैलिएका थिए । तर बालेन सरकारले ती अपुष्ट समाचारहरुलाई अस्वीकार गरेको छ ।
तपाईलाई थाहा छ ? युरेनियमको मुख्य प्रयोग विशेषगरी परमाणु ऊर्जा उत्पादनमा हुन्छ । जहाँ न्युक्लियर रियाक्टरमा यू–२३५ लाई ३ देखि ५ प्रतिशतसम्म इन्च्रिच गरेर प्रयोग गरिन्छ । एक किलो शुद्ध यू–२३५ ले तीन लाख टन कोइला बाले जत्तिकै ऊर्जा दिन्छ । हाल विश्वको करिब १० प्रतिशत विद्युत् युरेनियमबाट आउँछ । त्यसमध्ये पनि फ्रान्सले ७० प्रतिशत र स्वीडेन, फिनल्याण्डले एक तिहाइ विद्युत् यसैबाट उत्पादन गर्छन् ।
सन् २०२५ को डाटा अनुसार हाल विश्वभर युरेनियमबाट विजुली निकाल्न ४४० प्लस रिएक्टर सञ्चालनमा छन्, भने ५० भन्दा धेरै रिएक्टरहरु निर्माणाधीन रहेका छन् । त्यसमध्ये अमेरिकासँग ९४, फ्रान्ससँग ५७, चीनसँग ६० वटा रिएक्टरहरु रहेका छन् । अमेरिका, फ्रान्स, चीन र भारत जस्ता देशहरुले युरेनियम–२३५ लाई रिएक्टरमा राख्छन् । जसलाई न्युट्रोनले ठोकेर फिसन भई परमाणु टुक्रिन्छ र २ देखि ३ न्युट्रोन निस्कन्छन्, यहि प्रकृया चेन रियाक्सनका रुपमा चलिरहन्छ । जसले गर्दा नियन्त्रित रूपमा यसले ताप उत्पन्न गरी पानी उमालेर वाफ बनाउँछ र टर्बाइन घुमाई बिजुली निकाल्छ । एक ग्राम युरेनियम–२३५ ले १ टन कोइला बराबर ऊर्जा उत्पादन गर्छ ।
तर युरेनियमको अर्को डरलाग्दो पक्ष यो विश्व नै विनास गर्न तथा आफ्नो शक्ति प्रदर्शन गर्नका लागि शक्ति राष्ट्रहरुले प्रयोग गर्दै आएका छन् । सन् १९४५ को अगस्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा खसालिएको ‘लिटल ब्वाई’ बम यसकै ज्वलन्त उदाहरण हो । उक्त महाविनासमा ६४ किलो इन्ड्रिच्ड युरेनियमको प्रयोग भएको थियो । यसको विस्फोटमा परि लाखौं निर्दोष मानिसहरु मारिएका थिए ।
समग्रमा युरेनियम नेपालका लागि ‘मेटल अफ होप’ बन्न सक्छ तर यसको गलत प्रयोगले विनाश पनि निम्त्याउन सक्छ। सही नीति, पारदर्शिता र वैज्ञानिक दृष्टिकोणले मात्र यो सम्भावना वास्तविकता बन्नेछ। यस्तोमा सरकारले अन्तर्राष्ट्रिय आईएईएसँग सहकार्य गरी विस्तृत सर्वेक्षण, कानुन संशोधन, जनशक्ति विकास र पर्यावरणीय मूल्यांकन गरी स्थानीय समुदायलाई समावेश गरी पारदर्शी नीति बनाउनु पर्छ।
त्यस्तै नेपालले युरेनियमलाई सही ढंगले उपयोग गरेर जलविद्युत् संकटबाट मुक्त हुन सक्छ। तर त्यसका लागि हतारमा नभई, विज्ञान, सुरक्षा र दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने हुन्छ।































