काठमाडौं । इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । भेटवार्ताले दुई देशबीचको पुरानो साझेदारीलाई पुनः केन्द्रमा ल्याएको छ ।
राज्यस्तरीय रात्रिभोजका क्रममा दुवै नेताले ‘विशेष सम्बन्ध’ को खुलेर प्रशंसा गरे । यद्यपि इरानको आणविक कार्यक्रमबारे ट्रम्पले सार्वजनिक रूपमा राखेको धारणा विवादको विषय बनिरहेको छ ।भव्य स्वागत र औपचारिक कार्यक्रमबीच आयोजित रात्रिभोजमा ट्रम्पले इरानलाई सङ्केत गर्दै आफूहरूले ‘विशेष प्रतिद्वन्द्वीलाई सैन्य रूपमा पराजित गरेको’ दाबी गरे ।
राजा चार्ल्स तृतीयले लन्डन र वासिङ्टनबीचको ऐतिहासिक सहकार्यलाई अझ मजबुत बनाउन आवश्यकता रहेको औँल्याउँदै बदलिँदो विश्व परिवेशमा साझा चुनौतीहरू सामना गर्न मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । अन्तर्राष्ट्रिय गठबन्धनहरूको महत्त्व, विशेषगरी नाटो जस्ता संरचनाहरूको भूमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै राजा चार्ल्स तृतीयले युक्रेनमाथि रुसको आक्रमणविरुद्ध निरन्तर समर्थन आवश्यक रहेको बताए ।
यसअघि अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै राजा चार्ल्स तृतीयले लोकतान्त्रिक मूल्य, कानूनी शासन र शक्ति सन्तुलनको सिद्धान्तप्रति प्रतिबद्धता बताए । म्याग्ना कार्टाको सन्दर्भ उल्लेख गर्दै यसले अमेरिकी न्याय प्रणालीमा समेत प्रभाव पारेको उनले बताए ।
यस भ्रमणलाई सुरक्षा दृष्टिले पनि संवेदनशील मानिएको छ । वासिङ्टनमा हालै ट्रम्पमाथि कथित आक्रमण प्रयासको घटना सार्वजनिक भएपछि सुरक्षालाई कडा बनाइएको छ । हिंसात्मक गतिविधिप्रति असहमति जनाउँदै राजा चार्ल्स तृतीयले यस्ता कार्यहरू सफल नहुने बताए ।































प्रतिक्रिया