वेलायतको काउन्सिल निर्वाचनमा आप्रवासीहरुप्रति अनुदार रिफर्म यूकेको उदय, नेपालीमूलका रानाभाट दम्पतीसहित ६ जना निर्वाचित

वेलायतको काउन्सिल निर्वाचनमा आप्रवासीहरुप्रति अनुदार रिफर्म यूकेको उदय, नेपालीमूलका रानाभाट दम्पतीसहित ६ जना निर्वाचित

केन्द्रबिन्दु
21
Shares

बेलायत । बेलायतको काउन्सिल निर्वाचनमा दक्षिणपन्थी लोकप्रियतावादी र आप्रवासीहरुप्रति निकै अनुदार रिफर्म यूके पार्टीले धेरै स्थानमा जीत हासिल गरेको छ ।

यो निर्वाचनमा बेलायतको सत्तारुढ दल लेबर पार्टीलाई ठूलो झड्का लागेको छ । बेलायतको समयअनुसार शुक्रबार मध्यरातिसम्म प्राप्त नतिजाअनुसार कूल १३६ काउन्सिलमध्ये १३१ को नतिजा प्राप्त हुदाँसम्म नाइजल फराज नेतृत्वको रिफर्म युकेले सबैभन्दा बढी एक हजार ४४३ काउन्सिलर सिट जितेको छ ।

दोस्रो स्थानमा रहेको सत्तारुढ लेबरले ९५९ र तेस्रो स्थानको लिब्डेमले ८३४, कन्जरभेटिभले ७७३, ग्रीनपार्टीले ५११ तथा अन्यले २४४ काउन्सिलर पद जितेका छन् । सत्तारुढ पार्टीले यसअघिको तुलनामा करिब एक हजार ३९५ सिट गुमाएको हो । अधिकांश सिट फराज नेतृत्वको रिर्फमले कब्जा गरेको छ ।

रिफर्म यूके संयुक्त अधिराज्यको एक दक्षिणपन्थी लोकप्रियतावादी र अति–दक्षिणपन्थी राजनीतिक दल हो जुन आप्रवासीहरुप्रति निकै अनुदार मानिन्छ ।

यो निर्वाचनमा नेपाली मुलका ६ जनाले जीत हासिल गरेका छन् । लन्डन रोयल ग्रीनबीच बरोको ‘प्लमस्टेड एन्ड ग्लिन्डन’मा नेपालीमूलका पूर्वमेयर जित रानाभाट काउन्सिलर निर्वाचित भएका छन् । त्यस्तै उनकी पत्नी गौमाया गुरुङ सोही बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित भएकी छिन् ।

यसअघि सोही बरोको मेयर तथा उपमेयरको जिम्मवारी पूरा गरेका रानाभाट एक हजार ६१० मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित भएका हुन् । प्लमस्टेड एन्ड ग्लिन्डनमा तीन वटै सिट लेबर पार्टीले जितेको छ । लेबर पार्टीका टमी अहेदो, अडेल खैरा पनि काउन्सिलरमा निर्वाचित भएका छन् ।

रानाभाट पत्नी गौमाया पहिलोपटक काउन्सिलर निर्वाचित भएकी हुन् । उनले एक हजार २९२ मत प्राप्त गरेकी छिन् । रानाभाट दम्पती दुवै लेबर पार्टीबाट चुनावी मैदानमा होमिएका थिए ।

उता, अल्डरसटका रश्मोर बरोअन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेल्वासे निर्वाचित भएका छन् । कञ्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे ८९१ मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित भएका छन् । सोही बरोको वेलिङटन वार्डमा पूर्वगोर्खा उत्तरबहादुर गुरुङ ५५१ मतसहित काउन्सिलर निर्वाचित भएका छन् ।

त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीबाट एक हजार १८० मतसहित निर्वाचित प्रतिक्षा गुरुङ नेपाली मूलबाट निर्वाचित हुने पहिलो महिला काउन्सिलर बनेकी छिन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका छन् । बेलायतमा बिहीबार सम्पन्न निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

Logo