काठमाडौं । पश्चिम बंगालको विधानसभा निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेपछि भारतीय जनता पार्टी(भाजपाले ) मुख्यमन्त्रीमा शुभेन्दु अधिकारीलाई अगाडि सारेको छ । नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यमा भाजपाको तर्फबाट अधिकारी पहिलोपटक मुख्यमन्त्री बन्न लागेका हुन् ।
उनले पश्चिम बंगालको भवानीपुरबाट ममता बनर्जीलाई पराजित गरेका थिए । उनी राज्यमा भाजपाका पहिलो मुख्यमन्त्री हुनेछन् ।
पार्टी पर्यवेक्षकका रूपमा कोलकाता पुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले उनको नाम घोषणा गरेका हुन् । अमित शाहले शुभेन्दुको पक्षमा आठवटा प्रस्ताव र समर्थन प्राप्त भएको तथा उनीबाहेक अरू कुनै नाम अगाडि नआएको बताए ।
भाजपाले पश्चिम बंगाल राज्यका २९४ विधानसभा सिटमध्ये २०७ सिट जितेर बनर्जीको अखिल भारतीय तृणमूल कांग्रेसको १५ वर्षको शासन समाप्त गरिदिएको थियो । शुभेन्दु अधिकारीले आज मे ९ मा कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा मुख्यमन्त्री पदको शपथ लिनेछन् । ममता बनर्जीका सहयोगी रहिसकेका शुभेन्दु अधिकारीले डिसेम्बर २०२० मा टीएमसी छोडेका थिए ।
पश्चिम बंगालको आगामी मुख्यमन्त्रीका रूपमा शुभेन्दु अधिकारीको नाम घोषणा गरेपछि भाजपा नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहले कांग्रेस पार्टीमाथि निशाना साधेका छन् । उनले कांग्रेसलाई चुनावको प्रक्रियामा हिलो छ्याप्नुको सट्टा आफ्नो हारका लागि आत्मचिन्तन गर्न आवश्यक रहेको बताए ।


















