काठमाडाैं । कोलम्बियाको दक्षिण-पश्चिमी क्षेत्रमा पर्ने एक व्यस्त राजमार्गमा भएको शक्तिशाली बम विस्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा २० पुगेको छ। ‘काउका’ क्षेत्रका गभर्नर ओक्टाभियो गुजम्यानले सोमबार दिएको जानकारी अनुसार मृतकहरूमध्ये १५ महिला र ५ पुरुष रहेका छन्। केही सञ्चारमाध्यमहरूले भने मृतकको संख्या २१ पुगेको उल्लेख गरेका छन्।
प्रसिद्ध ‘प्यान-अमेरिकन हाइवे’ को एउटा सुरुङ नजिकै भएको यो विस्फोटमा परी अन्य ३६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको सघन उपचार कक्षमा उपचार भइरहेको छ। घाइते हुनेमा ५ जना बालबालिका समेत रहेका छन्, जो हाल खतरामुक्त रहेको बताइएको छ।
विष्फोटका पीडितमध्ये अधिकांश ‘काजिबिओ’ सहर नजिकैको गाउँका बासिन्दा रहेका छन्। सोमबार सयौँको संख्यामा भेला भएका स्थानीयले सेतो लुगा लगाएर र सेतो बेलुन उडाउँदै शान्तिको कामना गर्दै मृतकहरूको सम्झनामा शोक सभा आयोजना गरेका थिए।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले यस आक्रमणको कडा निन्दा गर्दै यसलाई ‘नार्को-आतंकवादी’ समूहको कार्य भएको बताएका छन् । राष्ट्रपति पेट्रोले पूर्व फार्क लडाकु नेस्टर भेरा, जो ‘इभान मोर्डिस्को’ नामले परिचित छन्, को नेतृत्वमा रहेको विद्रोही समूहले यो आक्रमण गराएको किटानी गरेका छन् ।
मोर्डिस्को सन् २०१६ मा सरकारसँग भएको ऐतिहासिक शान्ति सम्झौता अस्वीकार गर्ने पूर्व फार्क विद्रोहीहरूको समूहका प्रमुख हुन्। यो सन् २००३ मा बोगोटाको एक नाइट क्लबमा भएको बम विष्फोट (जसमा ३६ जना मारिएका थिए) पछिको कोलम्बियाकै सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ।































प्रतिक्रिया