कम्बोडियाका हुन सेनद्वारा विपक्षी नेता केम सोखाको सजाय माफी

कम्बोडियाका हुन सेनद्वारा विपक्षी नेता केम सोखाको सजाय माफी

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख हुन सेनले सोमबार विपक्षी नेता केम सोखालाई देशद्रोहको आरोपसम्बन्धी लगभग तीन दशकको सजायबाट आममाफी दिइएको घोषणा गरेका छन् ।

कम्बोडियाको पूर्व प्रधानमन्त्रीसमेतको अनुभव सङ्गालेका कार्यवाहक राष्ट्र प्रमुख हुन सेनले आफूले हस्ताक्षर गरेको आम माफीको निर्देशन पत्रसहित संलग्न गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “लामो समयदेखि शासन गरिरहेका पूर्व नेताको सरकार ढाल्न खोजेको अभियोगमा दोषी ठहरिएका र २७ वर्षको जेल सजाय सुनाइएका केम सोखालाई आम माफी दिइएको छ।

सिनेटका अध्यक्ष तथा र वर्तमान प्रधानमन्त्रीका पितासमेत रहनुभएका हुन सेन राष्ट्रिय राजनीतिमा एक प्रभावशाली व्यक्तित्व मानिन्छन् । ७२ वर्षीय केम सोखालाई सन् २०१७ मा देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो । ६ वर्षपछि सजाय सुनाइएको थियो । तर उनलाई राजधानी नोमपेनमा नजरबन्दमा राख्न आदेश दिइएको थियो।

विघटित विपक्षी कम्बोडिया नेशनल रेस्क्यु पार्टीका सह–संस्थापक केम सोखाले बारम्बार आफूमाथि सरकारद्वारा लगाइएको उक्त आरोपको खण्डन गर्दै आएका छन् । हुन सेनको कब्बोडियन पिपुल्स पार्टीविरुद्ध पार्टीले चुनावी लाभ हासिल गरेपछि उनी र उनको लोकप्रिय विपक्षी आन्दोलनलाई राजनीतिबाट रोक्नका लागि अभियोजन गरिएको अधिकारवादीहरू बताउँछन्।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले यसै महिना कम्बोडियाली अदालतले केम सोखालाई अप्रिल ३० मा देशद्रोहको सजायविरुद्ध गरेको अपिल अस्वीकार गरेकोमा आफलाई ‘गहिरो चिन्ता’ लागेको बताए।

“सोमबारको आममाफीले केम सोखालाई पाँच वर्षका लागि देश छोड्न प्रतिबन्ध लगाएको पुनरावेदन अदालतको थप सजायलाई रद्द गरेको छैन,” शाही आदेशमा भनिएको छ।

Logo