मिस यूनिभर्स सुस्मिता सेनलाई कसरी लाग्यो ‘गोल्ड डिगर’ को ट्याग

मिस यूनिभर्स सुस्मिता सेनलाई कसरी लाग्यो ‘गोल्ड डिगर’ को ट्याग

केन्द्रबिन्दु
18
Shares

न्युदिल्ली । जुलाई २०२२ मा जब व्यवसायी तथा इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक अध्यक्ष ललित मोदीसँगको सम्बन्धबारे खुलासा भयो, तब नायिका तथा पूर्व मिस युनिभर्स सुस्मिता सेन विवादमा तानिइन् । धन सम्पत्तिकै लोभमा आफुभन्दा १३ वर्ष जेठा मोदीसँग लागेको भन्दै उनले निकै आलोचना खेप्नु पर्‍यो ।

दुई ‘एडप्टेड’ छोरीकी अविवाहित आमा सुस्मिताको सम्बन्ध त्यसअघि अभिनेता रणद्वीप हुडासँग २००६ सम्म दुई वर्ष चल्यो भने २०१८ देखि तीन वर्ष मोडल रोमन सलसँग चलेको थियो । त्यसपछि मोदीसँगको सम्बन्धले एकाएक चर्चामा तानिएकी सुस्मिताको उक्त सम्बन्ध पनि फेब्रुअरी २०२५ मा आएर टुंगिएको थियो । त्यस अवधिमा सुस्मितालाई धनाढ्यलाई सम्पत्तिका लागि प्रेमजालमा फसाउने ‘गोल्ड डिगर’ को ट्याग नै लाग्यो ।

सुस्मितासँगको आफ्नो सम्बन्धका बारेमा मोदीले चार वर्षपछि अहिले बल्ल मुख खोलेका छन् । मुख मात्रै खोलेनन्, सुस्मितालाई लाग्दै आएको ‘गोल्ड डिगर’ को धब्बालाई पनि मेटाउने प्रयास गरेका छन् । ‘सुस्मिता सुन्दर, सफल र आफ्नै बलबुँताले बनेकी महिला हुन्’ हालैको एक अन्तर्वार्तामा आफुसँगको बहुप्रचारित सम्बन्धका बारेमा ललित मोदीले भनेका छन्, ‘मैले जाने बुझेका जोकोहीसँग भन्दा धेरै उनीसँग हिरा छ, र त्यो सबै उनले आफ्नै कमाईले आर्जन गरेकी हुन् । यतिसम्म की उनीसँग त डायमन्ड स्टोर्स नै छ ।’

मोदीले पटक पटक सुस्मितालाई ‘गोल्ड डिगर’ भन्नु अत्यन्त गलत हुने जिकिर गर्दै आफु सम्बन्धमा हुँदा कहिल्यै त्यस्तो अनुभव नगरेको बताए । भने, ‘सुस्मितालाई त्यस्तो आक्षेप लगाईनु सरासर गलत हो । उनी मसँग कहिल्यै पनि आर्थिक हिसाबले आशक्त भईनन् । बरु मलाई उनले ब्वाइफ्रेन्ड राखेको अनुभव दिलाउँथिन् । आफ्नो लागि हिरा मात्रै होइन, जे किन्दा पनि आफैंले पैसा तिर्थिन् ।’

१९ वर्षकै उमेरमा मिस युनिभर्स बनेकी सुस्मिताले सन् १९९६ देखि नै फिल्म ‘दस्तक’ बाट बलिउड छिरिसकेकी थिइन् । ललित मोदीले सुस्मितालाई प्रीय साथी भन्दै आफ्नो जीवनको एक अभिन्न अंगका रूपमा रहेको बताए । जबकी सुरुवातमा मोदीले नै माल्दिभ्स र सर्दिनियामा घुम्न जाँदा दुईका अन्तरंग सम्बन्धका फोटोहरू सामाजिक सन्जालमा साझेदार गर्दै सुस्मितालाई ‘बेटर हाफ’ लेखेका थिए ।

‘अन्ततः एउटा नयाँ जिन्दगीको नयाँ सुरुवात’ क्याप्सनसहित राखिएको उक्त पोष्ट क्षणभरमा नै भाइरल भएपछि मोदीले तत्काल प्रष्टीकरणमा भनेका थिए, ‘केवल जानकारीका लागि, हामी डेटमा मात्र छौं, विवाहित होइनौं । र, त्यो दिन पनि एकदिन पक्कै आउला ।’ त्यसको भोलीपल्ट सुस्मिताले पनि आफुहरु न विवाह गरेको, न त ईन्गेजमेन्ट नै भएको प्रतिक्रिया दिएकी थिइन् ।

२०२५ को भ्यालेन्टाइन्स डेमा मोदीले आफ्नो लामो समयदेखिको साथी रीमा बौरीलाई नयाँ पार्टनरका रूपमा चिनाएपछि सुस्मितासँगको सम्बन्ध सकिएको खुलासा भएको थियो । एजेन्सी

Logo