हेलिकप्टर खसालेपछि अमेरिकाद्वारा इरानमाथि आक्रमण

हेलिकप्टर खसालेपछि अमेरिकाद्वारा इरानमाथि आक्रमण

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । इरानले अमेरिकी हेलिकप्टर खसालेको बदलामा अमेरिकाले इरानमा सैन्य आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार बुधबार बिहानदेखि हेलिकप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप इरानमाथि आक्रमण सुरु गरिएको हो।

सेन्टकमले विज्ञप्तिमा भनेको छ, ‘यो इरानको अनुचित आक्रामकताको समानुपातिक जवाफ हो।’ फारसी खाडी र होर्मुज जलमार्ग आसपासका क्षेत्रमा विस्फोटका आवाज सुनिएको पनि जनाइएको छ।

खसालिएको अमेरिकी एपाचे हेलिकप्टरका दुई चालक दलका सदस्यलाई अमेरिकी समुद्री ड्रोनमार्फत उद्धार गरिएको थियो। उद्धार अभियानमा समुद्री ड्रोन प्रयोग भएको अमेरिकी सेनाले पुष्टि गरेको छ।

हेलिकप्टर खसालेको घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए, ‘दुवै पाइलट सुरक्षित छन् र घाइते भएका छैनन्। तर पनि अमेरिकाले यो आक्रमणको जवाफ दिनैपर्छ।’

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमण इरानी ड्रोनबाट गरिएको थियो। तर उक्त ड्रोनले हेलिकप्टरलाई नियोजित रूपमा निशाना बनाएको थियो वा थिएन भन्ने स्पष्ट भइसकेको छैन।

इरानी सञ्चारमाध्यमहरूले घटनाको स्वीकारोक्ति जनाउने संकेत गरे पनि इरानले हेलिकप्टर खसालेको जिम्मेवारी नलिएको अर्धसरकारी समाचार संस्था मेहर समाचार संस्थाले जनाएको छ। घटनाको केही घण्टापछि सेन्टकमले इरानभित्र सैन्य आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई ‘इरानी आक्रामकताको समानुपातिक प्रतिक्रिया’ भनेको छ।

अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार आक्रमण मुख्यतः इरानी रक्षा तथा रडार प्रणालीलाई लक्षित गरिएको थियो। इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, केश्म र सिरिकलगायत फारसी खाडी तटीय क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन्।

अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले ट्रम्पले इरानमाथि आक्रमण पुनः सुरु गर्ने निर्णय गर्दा आफू पनि उपस्थित रहेको बताएका छन्। उनले भने, ‘यो आवश्यक बन्नु दुःखद हो, तर हामीले यो विषय टुंग्याउनैपर्छ।’

इरानका विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिकी कदमको कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्।उनले एक्समा लेखेका छन्, ‘इरानले कुनै पनि आक्रमण वा धम्कीको जवाफ नदिई छाड्ने छैन।’अराघचीले थपेका छन्, ‘सुरक्षित रहन चाहनुहुन्छ भने हाम्रो क्षेत्र छोड्नुहोस्।’

Logo