सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु भएको एक अधिकारवादी समूह र प्रत्यक्षदर्शीहरूले बिहीबार बताएका छन् ।

सन् २०२३ अप्रिलमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सुरु भएको द्वन्द्वसँगै बढेको ड्रोन युद्ध सुडानको हिंसाको प्रमुख विशेषता बनेको छ । शहरको केन्द्रमा बस्ने अल–कुब्बा छिमेकका अर्का बासिन्दाले भने, “मारिनेहरूमा आफन्त पनि रहेको बताउने एक जनाले स्थानीय अस्पतालमा सातभन्दा बढी शवहरू ल्याइएको देखेको बताए ।” मृत्यु हुनेमा दुई बालबालिका र एक महिला रहेको मेडिकल स्रोतले एएफपीलाई बताएको छ ।

युद्धभरि दुव्र्यवहारको दस्तावेजीकरण गर्दै आएको आपतकालीन वकिल समूहले दक्षिणी कोर्डोफान क्षेत्रको मुख्य केन्द्रमा आवासीय क्षेत्रहरू, अन्त्येष्टि सभा र खाद्यान्न सामग्री बोकेको ट्रकमा आक्रमण बुधबार साँझ सुरु भएको र बिहीबार सम्म जारी रहेको थियो ।

आक्रमणको दोष आरएसएफलाई दिने उक्त समूहका अनुसार कम्तीमा १९ जना अन्य घाइते भएका छन् । दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेनन् र अर्धसैनिक बलबाट तत्काल कुनै टिप्पणी गरिएको छैन ।

उत्तरी कोर्डोफानको राजधानी एल–ओबेदलाई अर्धसैनिक बलले महिनौंदेखि घेरेको छ र डार्फरमा आरएसएफको नियन्त्रणमा रहेको क्षेत्रलाई पूर्वमा सेना–नियन्त्रित क्षेत्रहरूसँग जोड्ने मुख्य मार्गमा अवस्थित छ ।

आपतकालीन वकिलहरूका अनुसार प्रारम्भिक आक्रमणमा पाँच सर्वसाधारणको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । त्यसपछिको आक्रमणमा एक चिहानमा भेला भएका शोकाकुल व्यक्तिहरूलाई लक्षित गरिएको थियो, जसमा चार जनाको मृत्यु भएको थियो र सात जना घाइते भएका थिए।

शहरको पूर्वी किनारमा अल–मुवाजाफिन र अल–मतर छिमेकका घर र शहरको केन्द्रमा रहेको पाँचौँ इन्फेन्ट्री डिभिजनको मुख्यालय वरपरका क्षेत्रहरूमा थप आक्रमणहरू भएका छन् । क्षतिग्रस्त घरहरू नजिकै भेला भएका बेला तेह्र जना सर्वसाधारणको मृत्यु भएको समूहले जनाएको छ ।

बिहीबार बिहानै एक फरक घटनामा, ड्रोन आक्रमणले एल–ओबेदको दक्षिणी प्रवेशद्वारमा खाद्यान्न आपूर्ति बोकेको ट्रकमा आक्रमण गर्दा उक्त चालकको मृत्यु भएको र कार्गो जलेर नष्ट भएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यस वर्षको जनवरीदेखि अप्रिलसम्म देशभर भएका ड्रोन आक्रमणमा परी ८८० जना सर्वसाधारणको मृत्यु भएको छ । विशेष गरी आरएसएफले गत अक्टोबरमा पश्चिमी डार्फरमा सेनाको अन्तिम प्रमुख गढ एल–फाशर कब्जा गरेपछि इथियोपियाको सीमा नजिकै कोर्डोफान क्षेत्र र ब्लू नाइल राज्यमा हालैका महिनाहरूमा लडाइँ तीव्र भएको छ ।

तेल भण्डार, कृषियोग्य भूमि र आरएसएफका सबैभन्दा शक्तिशाली अर्धसैनिक सहयोगीको घर कोर्डोफान युद्धको प्रमुख मैदान बनेको छ र अझै पनि द्वन्द्व कडारूपमा जारी छ । यस व्यापक द्वन्द्वले दशौँ हजार मानिसहरूको ज्यान लिएको छ र एक करोड १० लाखभन्दा बढीलाई आफ्नो घरबाट विस्थापित गर्न बाध्य पारेको छ । यसलाई संयुक्त राष्ट्र सङ्घले विश्वको सबैभन्दा ठूलो विस्थापन र भोकमरीको सङ्कटको रूपमा वर्णन गरेको छ ।

Logo