मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

केन्द्रबिन्दु
24
Shares

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथिको विस्तृत छलफलपछि सभामुख रामअशिष यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावमाथि विपक्षमा कुनै मत नपरेपछि सभामुख यादवले नीति तथा कार्यक्रम सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

प्रदेश सरकारले जेठ १५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रतिपक्षी दलहरूको अवरोधका कारण लामो समयसम्म छलफलमा प्रवेश गर्न सकेको थिएन । पछि दलहरूबीच सहमति भएपछि छलफल प्रक्रिया अघि बढाइएको थियो ।

नीति तथा कार्यक्रममाथि विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तीमध्ये सत्तारूढ नेकपा (एमाले)का सांसद राजकुमार लेखीले प्रस्तुत गर्नुभएको संशोधन प्रस्तावमात्र स्वीकृत भएको छ भने अन्य प्रस्ताव अस्वीकृत भएका छन् ।

नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्री युवराज भट्टराईले आगामी बजेट निर्माणका लागि विनियोजन विधेयकमा समावेश गरिने प्राथमिकता तथा सिद्धान्त सदनमा प्रस्तुत गरे। त्यसपछि सभामुख यादवले प्रदेशसभा बैठक स्थगित गर्नुभयो । नीति तथा कार्यक्रम पारित भएसँगै मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।

Logo