अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर

अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा शान्ति सम्झौता भएको छ । जसको औपचारिक हस्ताक्षर समारोह स्विट्जरल्यान्डमा आयोजना गरिनेछ। यससँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ।

सम्झौतासँगै हर्मुज जलमार्ग पुनः खुला हुने र सबै मोर्चामा युद्धको तत्काल तथा स्थायी अन्त्य हुने घोषणा गरिएको छ। विश्व नेताहरूले यस सम्झौताले मध्यपूर्वमा स्थायित्व र विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्दै यसको औपचारिक हस्ताक्षर समारोह शुक्रबार (जुन १९ मा) स्विट्जरल्यान्डमा आयोजना गरिने जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको पुष्टि गरेका छन्। आफ्नो ८०औँ जन्मदिनका अवसरमा जारी वक्तव्यमा उनले हर्मुज जलमार्ग जहाज आवागमनका लागि पूर्ण रूपमा खुला गरिने र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी तत्काल हटाइने घोषणा गरेका छन्।

‘हर्मुज जलडमरूमध्यलाई शुल्कमुक्त रूपमा सञ्चालन गर्न र अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन अनुमति दिएको छु,’ ट्रम्पले वक्तव्यमा उल्लेख गरेका छन्।

ट्रम्पको घोषणापछि इरानले पनि अमेरिकासँग भएको नयाँ सम्झौताले दुई देशबीचको युद्ध तत्काल अन्त्य भएको जनाएको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले राज्य सञ्चालित टेलिभिजनमार्फत् लेबनानसहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य घोषणा गरिएको बताएका छन्।

यसअघि तेहरानले बेरुतको उपनगरमा इरान समर्थित हिजबुल्लाहमाथि इजरायलले गरेको आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएको थियो। उक्त घटनाले सम्भावित सम्झौतामा असर पार्न सक्ने अनुमान गरिएको थियो।

तर त्यसलगत्तै प्रधानमन्त्री शरीफले सम्झौता भएको घोषणा गर्दै अमेरिका र इरानलाई द्वन्द्वको कूटनीतिक समाधान खोजेकोमा धन्यवाद दिएका छन्। उनले दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्यमा सहमति जनाएको उल्लेख गरेका छन्।

Logo