काराकास । भेनेजुएलामा विनाशकारी भूकम्प गएको ६ दिनपछि तीन वर्षीय बालकलाई मंगलबार भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। जोर्डनको उद्धार टोलीले क्लिबर मोरन नामका ती बालकलाई भग्नावशेषबाट निकालेको हो।
उद्धार टोलीका अनुसार क्लिबरलाई प्राथमिक उपचार गरी अस्पताल लगिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा बालकको सकुशल उद्धारपछि उद्धारकर्मीहरूले खुसीयाली मनाइरहेको देखिन्छ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले यस उद्धारले जनतामा आशाको किरण सञ्चार गराएको बताएकी छन्। संयुक्त राष्ट्रसंघले भेनेजुएलामा हजारौं मानिसहरूलाई तत्काल खाना र आश्रयको आवश्यकता रहेको औंल्याएको छ। गत बुधबार गएको ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ। १० हजारभन्दा बढी मानिस घाइते भएका छन् भने हजारौं मानिस अझै बेपत्ता छन्।
नासाको स्याटेलाइट डेटाको प्रारम्भिक मूल्यांकनअनुसार ती भूकम्पले ५८ हजार ८ सय ७० वटा भवनहरूमा क्षति पुर्याएको छ। विशेषज्ञहरूका अनुसार भूकम्प गएको तीन दिनको अवधि मानिसहरूलाई जीवितै फेला पार्नका लागि उत्तम मानिन्छ, तर यो समयसीमा पार भइसकेकाले भग्नावशेषमा फसेकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको विज्ञहरूले बताएका छन्। ला गुआरा सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक हो। यहाँ धेरै स्थानीय मानिसहरू आफैं उद्धार कार्यमा जुटिरहेका छन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त (यूएनएचसीआर) को कार्यालयले मंगलबार ला गुआरामा खाद्य अभाव व्यापक रहेको, आधारभूत सेवाहरू ठप्प भएको र धेरैजसो स्थानमा सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ। झन्डै ३० हजार मानिसलाई ६ महिनासम्मका लागि अस्थायी आश्रय र राहत दिनका लागि १ करोड ४८ लाख ५० हजार रकम तत्कालै आवश्यक परेको यूएनएचसीआरले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रवक्ता क्रिस्टियन लिन्डमेरले भेनेजुएलाका स्वास्थ्य संस्थाहरूमा मानिसको भीड लागेको बताएका छन्। उनले हजारौं मानिसहरूलाई उपचार आवश्यक रहेको बताए। स्वास्थ्य क्षेत्रमा देखिएको दबाबमा कारण खोपमार्फत नियन्त्रण गर्न सकिने रोगहरूको महामारी फैलने जोखिम रहेको पनि उनले बताए। ‘दादुरा र डिप्थेरियाको खोप कभरेज भूकम्पअघि कम थियो। यस्ता समस्या फैलन सक्छन्,’ उनले भने।
भेनेजुएलाको सिभिल डिफेन्स एजेन्सीका पूर्वप्रमुख एन्जेल रान्जेलले पनि सेनाको भूमिका प्रभावकारी नदेखिएको बताए। ‘जब खराब अवस्था आउँछ । जब भूकम्प आउँछ, तब सुरक्षाफौज कतै देखिँदैन,’ रान्जेलले भने, ‘उनीहरू दंगा नियन्त्रणका लागि तयार छन्। प्राकृतिक विपद्का लागि होइन।’
सर्वसाधारण नागरिकहरूले भने आफैं भग्नावशेषका थुप्रोहरूमा आफ्ना प्रियजनहरूलाई खोजिरहेका छन्। उनीहरूले केही विदेशी उद्धारकर्ताहरूको सहयोगमा प्राप्त गरेका छन्। अस्पतालहरूमा आपूर्ति र जनशक्तिको अभाव देखिएको छ। आपत्कालीन टोलीहरूले अत्यन्तै थोरै वा बिना कुनै उपकरण उद्धार कार्य गरिरहेका छन्।
झन्डै २७ देशहरूले खोजी तथा उद्धारका लागि यहाँ आफ्नो टोली पठाएका छन्। विदेशीहरूले २ हजारभन्दा धेरै तालिमप्राप्त व्यक्ति र १ सय ६० भन्दा धेरै कुकुरहरू खोजी कार्यका लागि तैनाथ गरेको भेनेजुएलास्थित संयुक्त राष्ट्रसंघका संयोजक गियानलुका रामपोल्लाले बताए।






























