आईफोन एक्स, धेरै बिशेषता भएको मोवाइल

आईफोन एक्स, धेरै बिशेषता भएको मोवाइल


क्यालिफोर्निया, २९ भदौ । सधै प्रतिक्षा गर्नै पर्ने उपकरणको रुपमा रहने आईफोनका मोवाइल फोनले यो बर्ष पनि धेरैलाई प्रतिक्षा गराउन सफल भयो । प्रतिक्षाको फल मिठो हुन्छ भनेझैं एप्पलले यसपटक तिन मोडलमा मोवाइल फोनलाई सार्वजनिक गरेर मोवाइलको अन्तराष्ट्रिय बजारमै नयाँ तरङ पैदा गर्न सफल समेत भयो ।

एप्पलले यो बर्ष आईफोनको एट् सिरिजलाई बजारमा ल्याउने अनुमान धेरैले गरेपनि यसपटक आईफोनको एट्, आईफोन एट् प्लस र आईफोन एक्सलाई लन्च गरेर तहल्कै मच्चाईदियो । आफ्नो फ्ल्यागसिप मोडलको रुपमा रहेको आईफोन एक्सलाई सर्वाधिक अनौठो फिचर भएको मोवाइल फोन समेत मानिएको छ ।

आईफोन एक्सको मुख्य बिशेषता भनेकै फेस रिकगनिसन अर्थात् प्रयोगकर्ताको अनुहार चिनेर मात्र संचालन गर्न दिनुनै हो । यो किसिमको बिशेषता भएको यो पहिलो मोवाइल भएको एप्पलका सिईओ टिक कुकले लन्चिङ समारोहमा बताए । यो वाहेक यो सेट पासवर्डवाट पनि खुल्छ भने अध्यारोमा पनि प्रयोगकर्ताको अनुहार चिन्न सजिलो होस् भनेर इन्फ्रारेड क्यामेरा राखिएकै कारण सजिलै बास्तविक प्रयोगकर्ताहरु चिन्न सक्छ । मोवाइल सेक्युरिटीको क्षेत्रमा टच आईडिको तुलनामा फेस आईडीलाई बढी सुरक्षित समेत मानिन्छ ।

यो सेट ६४ जिबी र २ सय ५६ जिबी इन्टरनल स्टोरेज क्षमताको रहेको छ । ५ दशमलब ८ इन्चको स्क्रिन रहेको यो सेटको रिजोलुसन ११२५ X२४३६ पिक्सेलको रहेको छ । यो सेटको डिस्प्ले अहिले बजारमा रहेका मोवाइलहरु मध्ये सर्वाधिक स्पष्ट भएकै कारण यसको नाम सुपर रेटिना डिस्प्ले राखिएको छ ।

स्टेनलेस स्टिलको बडी रहेको यो सेटमा १२ मेगा पिक्सेलको डुअल रिअर क्यामेरा रहेको छ । यो क्यामेरा मार्फत् कम प्रकाशमा पनि खिच्न मिलोस् भनेर एउटा क्यामेराको एपार्चर १.८ र अर्कोको २.४ राखिएको छ । फ्रन्ट क्यामेरा भने ७ मेगापिक्सेलको रहेको छ ।

यो सेटको अर्को बिशेषता भनेको होम बटन नहुनु पनि हो । स्क्रिनलाई स्वाइप गरेको आधारमा बिभिन्न बटनहरु खुल्ने गर्छ ।

यो सेटको ब्याट्रिलाई वायरलेस चार्जर मार्फत् चार्जिङ गर्न मिल्छ भने यसको ब्याट्रि क्षमता पछिल्लो मोवाइल भन्दा दुई घन्टा बढी रहेको एप्पलले जनाएको छ ।

दुई कलरमा उपलब्ध रहेको यो सेट ६४ जिबी क्षमताको करिब १ हजार अमेरिकी डलर तोकिएको छ भने २ सय ५६ जिबी क्षमताको १ हजार १ सय ५० डलर तोकिएको छ । आगामी अक्टुबर महिना देखि बुकिङ खुला रहने यो सेट सम्भवत नोभेम्बर ३ तारिख देखि प्रयोगकर्ताको हातमा आउने एप्पले जनाएको छ । एजेन्सी

Logo