विश्व

फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

15 Shares

प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । 

अस्ट्रेलियाली सञ्चारमाध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो । फेसबुकले सञ्चारमाध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु संचार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो ।

अस्ट्रेलिया सरकारले सञ्चारमाध्यम र फेसबुक दुवैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी भएपछि विवाद समाधान भएको हो । अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेन्बर्ग र फेसबुकबीच केही महत्वपूर्ण विषयमा सहमति भएको बताइएको छ । फेसबुक अस्ट्रेलियाका व्यवस्थापन निर्देशक विल एस्टोनले जनचासोको पत्रकारिताका क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक रहेको बताउँदै आगामी दिनमा अस्ट्रेलियाली नागरिकका लागि फेसबुकमा समाचारको पहुँच बढाइने जानकारी दिए ।

फेसबुकले अस्ट्रेलियाली सञ्चारमाध्यमबाट प्रवाहित समाचारमा रोक लगाएसँगै अस्ट्रेलियाली जनमानसमा नकारात्मक असर परेको थियो । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको कदमप्रति रोश प्रकट गर्दै कडा आलोचना गरेका थिए । अस्ट्रेलियाको संसदले यसै साता पारित गर्न लागेको कानुनमा फेसबुक र गूगलले स्थानीय संचार माध्यमलाई भुक्तानी गरेमा थप दण्डित नगरिने उल्लेख छ । 

साथै गूगल र फेसबुकलाई मध्यस्थताका लागि दुई महिनाको समय थप गरिएको छ । दुवै प्रविधि कम्पनीले अस्ट्रेलिया सरकारले अघि बढाएको कानुन उपयुक्त नभएको भन्दै आपत्ति जनाएका थिए । 

एक अध्ययनअनुसार, हाल अस्ट्रेलियाली विज्ञापनदाताहरुले विज्ञापन बापत १०० डलर खर्च गरे गूगलले ४९ डलर र फेसबुकले २४ डलर प्राप्त गर्दछन् । रासस

प्रकाशित: ११ फाल्गुन २०७७ १३:२९ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी