भारतले अक्सफर्ड-अस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेश मन्त्रालय स्रोतले बताएको छ।
कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका हुन्। भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ। यसले कोभ्याक्स योजना अन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्न सक्ने सम्भावना छ।
विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ।
भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले थुप्रै देशमा अस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ। हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल परेका छन्।
भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-अस्ट्राजेनेकाकै खोप परेको छ।
भारतले यो कदम किन चाल्यो?
भारतभित्रै कोरोना भाइरसका बिरामीहरू तीव्र रूपमा बढिरहेका बेला भारतले यो निर्णय गरेको छ। यो वर्ष सबैभन्दा धेरै सङ्क्रमित सङ्ख्या बुधवार देखियो जसमा ४७ हजारभन्दा बढी नयाँ सङ्क्रमित छन् भने २७५ को मृत्यु भएको छ।
भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले पनि अधिकारीहरूले माग बढ्ने ठानेका छन्।
"निर्यात रोक्ने अस्थायी उपाय हो। घरेलु मागले पहिलो प्राथमिकता पाउनु पर्छ," बीबीसीका सौतिक विश्वासलाई विदेश मन्त्रालयका एकजना स्रोतले भन्यो।
उनीहरूका अनुसार एप्रिलसम्म खोपको आपूर्ति रोकिने सम्भावना छ, तर मे महिनामा भने अवस्था केही हलुका हुनसक्छ। त्यतिबेलासम्म अर्को एउटा खोपले पनि आपत्कालीन प्रयोगका लागि स्वीकृति पाउने ठानिएको छ।
विदेश मन्त्रालयको वेबसाइट अनुसार बिहीवार यता भारतले कुनै निर्यात गरेको छैन। "बाँकी सबै कुरा कम्तीमा अहिलेका लागि रोकिएको छ," मन्त्रालयकाे एक स्रोतले रोयटर्स समाचार संस्थालाई भनेका छन्। "भारतको अवस्था स्थिर नहुँदासम्म कुनै निर्यात हुँदैन।" निर्णयबारे सरकार वा एसइइका अधिकारीले कुनै प्रतिक्रिया जनाएका छैनन्।
पृष्ठभूमि के हो?
एसआइआइ -विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनीले यसअघि नै अस्ट्राजेनेका खोप पठाउने काम ब्राजिल, युके, साउदी अरेबिया र मोरोक्कोमा ढिला गरिसकेको छ। गत साता, बीबीसीले ५० लाख खोप पठाउन चार साताका लागि रोकिएको भनेर समाचार लेखेको थियो।
एसआइआइका प्रवक्ताले त्यतिबेला भनेका थिए, "सरकारको खोप कार्यक्रमको आवश्यकता र तत्कालको अवस्था हेरेर हामी पछि आपूर्ति गर्ने कोसिस गर्छौं।"
एसआइआइले निम्न र मध्यम आय भएका देशहरूका लागि यो वर्ष एक अर्ब खोप उत्पादन गर्ने जनाएको छ। अनि जनावरीमा उसले महिनाको छ करोडदेखि सात करोडसम्म खोपहरू बनाउन सक्ने बताएको थियो।
यो सङ्ख्यामा अस्ट्राजेनेका र अमेरिकामा विकसित तर भारतमा प्रयोगका लागि अनुमति पाउन बाँकी रहेको नोभाभ्याक्स खोप पर्छ।
जनावरीमै एसआइआइले बीबीसीसँग मार्च महिनाबाट प्रति महिना १० करोड खोपको मात्रा बनाउने उद्देश्य राखेको बताएको थियो।
यद्यपि, हालै गरिएको जाँचले छ देखि सात करोड मात्रामा नै बनिरहेको र त्यसमा वृद्धि नभएको थाहा भएको थियो।
भारतीय सरकारले जनावरी १६ तारिखबाट खोप कार्यक्रम सुरु गरेको थियो र अहिलेसम्म दोस्रो लहर आउनसक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई उसले खोप लगाइसकेको छ।
अधिकारीहरूले सात महिनाभित्र ६० करोडलाई खोप लगाउने आशा राखेका छन् जुन भनेको प्रतिमहिना ८ करोड ५० लाख मानिसलाई खोप लगाउनु हो। बीबीसीबाट





























प्रतिक्रिया