भारतमा कोरोनाबाट एकै दिन ७२ हजार बढी संक्रमित, ४५९ जनाको मृत्यु

भारतमा कोरोनाबाट एकै दिन ७२ हजार बढी संक्रमित, ४५९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिन ४५९ जनाको मृत्यु भएको छ। एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष सुरु भएयताको नै सबभन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

बुधबार कोरोनाबाट ४५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६२ हजार ९२७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ। गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजार भन्दा कम भएको थियो। जनवरी २५ र २६ का दिनमा भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या करिब ९ हजार १०० भएको थियो। कोरोना संक्रमितको उक्त संख्या यसअघिका २३७ दिनहरुका सबभन्दा कम थियो। 

हालका केही दिनयता भारतमा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। गत २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड २२ लाख २१ हजार भन्दा बढी पुगेको छ ।

कूल सङ्क्रमितमध्ये पाँच लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन्। भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म ६ करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन्।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ४६ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ। बुधबार एकै दिन दश लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ।रासस

Logo