भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ। गएको २४ घण्टायता तीन हजार २२९ जनाको कोरोनासङ्क्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार १८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष सुरु भएयताकै यो सबैभन्दा धेरै भएको समाचारमा जनाइएको छ। मङ्गलबार एकै दिनमा तीन लाख ६० हजार ९६० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ७९ लाख ९७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका बताइएको छ।
एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो सातौँ दिन भएको बताइएको छ। कोरोना महामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ।
भारतमा हाल २९ लाख ७८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। भारतमा हालसम्म एक करोड ४८ लाख १७ हजारभन्दा बढी कोरोना मुक्त भएका छन्। भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५५ लाख भन्दा बढी व्यक्तिले खोप लगाएका छन्।
कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाविरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ। भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन्। रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन्।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ। यहाँ गत सोमबार एकैदिनमा २० हजार २०१ जना थप व्यक्ति कोरोना भाइरस सङ्क्रमण देखिएको र ३८० जनाको मृत्यु भएको छ। दिल्ली कोरोना सुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण १५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।रासस





























प्रतिक्रिया