भारतबाट फर्कने नागरिकलाई अस्ट्रेलिया सरकारको कठोर कानुन, पाँच वर्ष जेल सजायदेखि ६६ हजार डलर जरिवानासम्म

भारतबाट फर्कने नागरिकलाई अस्ट्रेलिया सरकारको कठोर कानुन, पाँच वर्ष जेल सजायदेखि ६६ हजार डलर जरिवानासम्म


अस्ट्रेलियाली सरकारले हालका लागि भारतको यात्रालाई गैरकानुनी बनाएको छ। अस्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय दिन सकिने पनि उल्लेख गरेको छ। 

अष्ट्रेलियाले विशेष गरेर भारतमा कोरोना भाइरस संक्रमित भई क्वारेन्टिनमा बसिरहेका आफ्ना नागरिकहरूको संख्याका आधारमा पछिल्लो निर्णय लिएको बीबीसीले जनाएको छ। 

अस्ट्रेलियाले यसै साताको सुरूतिर भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो। भारतमा हाल अनुमानित नौ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६ सय जनालाई अस्ट्रेलिया सरकारले जोखिम समूहमा राखेको छ।

आफ्ना नागरिकहरूप्रति कठोर बनेको अष्ट्रेलिया सरकारको कदम असुहाउँदो भएको भन्दै आलोचना बढेको छ। तर, सरकारले यी निर्णयहरू हल्का ढङ्गले मात्र नलिएको भन्दै त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग हन्टले एक वक्तव्य नै जारी गरेका छन्। सोमवारबाट लागु हुने गरी अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ।

त्यसको उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्ने पनि अस्ट्रेलियाले जनाएको छ। भारतमा कोरोना भाइरस सङ्क्रमणको उच्च दरलाई ध्यानमा राख्दै अष्ट्रेलियाजस्तै कैयौँ मुलुकले उडानमा प्रतिबन्ध लगाइसकेका छन्। 

भारतमा शुक्रवारमात्रा ४ बढी नयाँ सङ्क्रमित थपिएका छन्। एकै दिन यो सङ्ख्यामा हालसम्म विश्वको कुनै पनि देशमा सङ्क्रमित थपिएका छैनन्। भारतमा पछिल्लो केही दिनयता दैनिक ३ लाखभन्दा बढी सङ्क्रमितहरू थपिने गरेका छन्।

त्यहाँ पछिल्लो एक हप्तामा मात्र १० लाखभन्दा बढी नयाँ सङ्क्रमितहरू थपिएका छन्। भारतमा हालसम्म १ करोड ९१ लाख ६३ हजार ४ सय ८८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने २ लाख ११ हजार ७ सय ७८ जनाको संक्रमणका कारण मृत्यु भएको तथ्याङ्क छ।

Logo