पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधवार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।
पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्वसभासद खानलाई एटोकको शीन बाग क्षेत्रमा अन्त्येष्टिमा भाग लिइरहेको बेला अज्ञात आक्रमणकारीहरूले चलाएको गोली लागी मृत्यु भएको हो ।
आक्रमणपछि उनलाई जिल्ला सदरमुकामस्थित एक अस्पताल लगिएको थियो तर पछि थप उपचारका लागि उनलाई एम्बुलेन्समा रावलपिंडी लग्ने क्रममा बाटोमा निधन भएको हो ।
“हामी डिएचक्यू अस्पताल रावलपिंडी नजिकै पुगेका थियौं तर अस्पतालमा पुग्नुअघि उहाँको देहावसान भयो,” पाकिस्तानी सञ्चारमाध्यमले जिल्ला आपतकालीन अधिकारी इशफाक मियांलाई उद्धृत गरी लेखेको छ ।
प्रान्तीय विधानसभाका पूर्व उम्मेद्वार र हक्मीन खानका निकटस्थ मलिक हमीद अकबर खानले मृतक नेताको टाउकोमा गोली हानिएको थियो । घाउबाट धेरै रगत बगेपछि उनको मृत्यु भएको खानले बताए ।
पीपीपी नेता खान सन् २००८ मा पीपी–१५ एटोकबाट निर्वाचित भएका थिए । उनी आफ्नो कार्यकालमा खानी र खनिजसम्बन्धी विशेषाधिकार समिति र स्थायी समितिको सदस्य भएका थिए ।
पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले ट्वीट गरेर उनको मृत्युमा शोक व्यक्त गर्दै भने, “शहन हक्मीनको हत्याको खबर सुन्दा म धेरै दुखी छु र शोकमग्न भएको छु । आफ्नो स्वर्गीय बुबा मलिक हकमिन जस्ता आस्तिक पीपीपी नेताको हत्यारालाई सजायँ दिनुपर्छ र मृतकका आफन्तजनलाई न्याय हुनुपर्छ ।”
खानका श्रीमती र दुई छोरा छन् । प्रहरी स्रोतका अनुसार उनलाई सम्पत्तीसम्बन्धी विवादमा १९–वर्षीय व्यक्तिले गोली हानी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।





























प्रतिक्रिया