पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोट हुँदा चिनियाँ नागरिकसहित १२ जनाको मृत्यु भएको छ। घटनामा नौ चिनियाँ र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ ।
स्थानीय समय अनुसार बुधबार बिहान सात बजे चिनियाँ कम्पनीले निर्माणको लागि ठेक्का लिएको दासु हाइड्रोपावर प्रोजेक्टको शटल गाडीहरू निर्माणस्थलतर्फ जाँदै गर्दा विस्फोट भएको थियो । दूतावासले एक विज्ञप्तिमा भने पाकिस्तानी पक्षले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “दूतावासले विस्फोटपछि तत्काल आपतकालीन प्रतिरोध संयन्त्रलाई सक्रिय गरेको छ । पाकिस्तानी सेना र विदेश विभाग तथा आन्तरिक मन्त्रालयलगायत पाकिस्तानी सरकारी विभागहरूसँग सम्पर्क राखी पाकिस्तानी पक्षलाई उद्धार र उपचारको सेवाका लागि अनुरोध गरेको छ।”
पाकिस्तानमा चिनियाँ संस्था, परियोजना र श्रमिकहरूले यस घटनाको जतिसक्दो छिट्टै सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छ। बम विष्फोट भएपछि पाकिस्तानी सेनाले उद्धार कार्य आरम्भ गरी घाइतेहरूलाई स्थानान्तरण गर्न हेलिकोप्टर पठाएको छ। दूतावासले उक्त बम विष्फोटमा घाइतेको स्वास्थ्यलाभ तथा मृतकप्रति हार्दिक सम्वेदना र दुःख व्यक्त गरेको छ । जिल्लाको दसु क्षेत्रका सहायक आयुक्त असिम अब्बासीले सिन्ह्वालाई घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने बताएका छन्।
जिल्लाका डेपुटी कमिस्नर मुहम्मद आरिफले सञ्चारमाध्यमसँग भनेका छन, “गम्भीर घाइतेहरुलाई प्रान्तको राम्रो सुविधा भएका अस्पतालमा लगिएको छ र सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हाली खोजी अभियान सुरु गरेको छ। घटनाको कुनै समूह वा व्यक्तिले समाचार तयार पार्दासम्म अझै दाबी गरेको छैन।"





























प्रतिक्रिया