डेल्टा भेरिएन्टले अस्ट्रेलियालाई पनि सताउँदै

डेल्टा भेरिएन्टले अस्ट्रेलियालाई पनि सताउँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल र भारतलाई कोरोना भाइरस महामारीको दोस्रो लहरमा दुःख दिएको डेल्टा भेरिएन्टले यस बखत अस्ट्रेलियालाई आक्रान्त बनाएको छ। केही महिनाअघिसम्म कोभिडमुक्त रहेको अस्ट्रेलियामा अहिले कोरोना संक्रमित संख्या बढ्दो छ। 

हाल अस्ट्रेलियाले अनिवार्य क्वारेन्टिन, लकडाउन र सीमानाका बन्द जस्ता उपायहरूको प्रयोगबाट महामारी नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।  

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा लगाइएको लकडाउन अहिले तेस्रो हप्तामा छ। बुधबार मात्रै त्यहाँ जुलाई अन्तिमसम्मका लागि लकडाउन थप गरिएको छ। गत महिना यता सिड्नीमा मात्रै कोभिड–१९ का ९०० केसहरू देखिएका छन्। हवाई यात्राबाट आउजाउ गरिरहेका ग्राहकहरूलाई ओसारपसार गरिरहेका एक जना खोप नलगाएका चालकमा पहिलो पटक संक्रमण देखिएको थियो। सिड्नीबाहेक अस्ट्रेलियाका प्रमुख सहरहरू डार्विन, पर्थ र ब्रिस्बेनमा पनि लकडाउन जारी छ। 
 
विशेषज्ञहरूले डेल्टा भेरिएन्टलाई सबैभन्दा खतरनाक भेरिएन्टको उपमा दिएका छन्। यस्तो परिचय भएको डेल्टा भेरिएन्ट अस्ट्रेलियाको कडा सुरक्षा नीतिका बाबजुद पनि फैलिन सफल भएको छ।

अस्ट्रेलियाले लकडाउन, सीमाबन्दी, कन्ट्याक्ट ट्रेसिङ जस्ता कुरामा ध्यान दिएको भए पनि खोप वितरणमा भने खासै ध्यान दिएको थिएन। खोप वितरणमा अस्ट्रेलिया जी–२० का अन्य राष्ट्रहरू भन्दा पछाडी रहेको छ। ‘खोप वितरण दौड होइन’ भन्ने प्रधानमन्त्री स्कट मोरिसनको अहिले चर्को आलोचना भइरहेको छ।

सरकारले खोप उपलब्ध गराए पनि खोपको असरबारे अस्ट्रेलियामा संसय व्याप्त रहेको ‘मेडिकल न्युज टुडे’ ले जनाएको छ। ‘सिड्नी मर्निङ हेराल्ड’ र रिसर्च कम्पनी ‘रिजल्भ स्ट्राटेजिक’ ले गरेको एक अध्ययनका अनुसार अस्ट्रेलियाको एक तिहाई जनसंख्या खोप नलगाई बस्ने सम्भावना छ।

Logo