अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना जितेर ह्वाईट हाउस फर्किए

अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना जितेर ह्वाईट हाउस फर्किए

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् । उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए ।

उनी अस्पतालबाट निवास फर्किए पनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ बर्षीय ट्रम्पले बताएका छन् । उनले चाडै नै आफू सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिए ।

अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिश्पर्धामा छन् । अस्पतालबाट ह्वाइट हाउस उनी छोटो हेलिकोप्टरमार्फत् गएका हुन् । उनी अस्पताल जाँदा पनि हेलिकोप्टरमै गएका थिए ।

ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्णरूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको र निवासमा रहँदा पनि उनलाई २४ घन्टा नै उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ ।

ह्वाइट हाउस पुगेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् , “मिथ्या समाचारले मिथ्या चुनावी सर्वेक्षण मात्र देखाइरहेका छन् ।”

उनले कोरोनाबाट डराउनु पर्ने आवश्यकता नरहेकोमा फेरि पनि जोड दिएका छन् । उनले यसअघि पनि कोरोनालाई सामान्य रुपमा लिन आह्वान गर्दै आएका थिए ।

उनी गत बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएका थिए । उनीसँगै उनकी पत्नी मेलानिया पनि सङ्क्रमित भएकी थिइन् । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामान्य नै रहेको जानकारी दिएका छन् ।

त्यसैगरी ह्वाइट हाउसका अन्य कम्तीमा १२ जना कर्मचारी तथा सहयोगीहरुलाई पनि सङ्क्रमण देखिएको जनाइएको छ ।

विश्वमै सवैभन्दा धेरै मानिसहरू कोरोना भाइरसबाट सङ्क्रमित रहेको मुलुक अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ६४४ भन्दा बढी मासिन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।रासस

Logo