सिड्नीमा दैनिक संक्रमण अहिलेसम्मकै उच्च, लकडाउन थपियो

सिड्नीमा दैनिक संक्रमण अहिलेसम्मकै उच्च, लकडाउन थपियो

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारी सुरु भएयताको उच्च दैनिक संक्रमण भेटिएपछि सिड्नीका साथै छेउको अर्को सानो सहर र बाइरन बेको समुद्री तटमा लकडाउन थप गरिएको हो। न्यू साउथ वेल्सका प्रमुख ग्लाडिस् बेरेजिक्लियनका अनुसार सो प्रान्तमा सोमबार ३ सय ५६ जनामा संक्रमण भेटियो भने ४ जनाको ज्यान गयो । जसमध्ये अधिकांश सिड्नीका छन्। 

न्यू साउथ वेल्स कोरोना नियन्त्रणका लागि संघर्षरत अस्ट्रेलियाली प्रान्तहरूमध्ये एक हो। नियन्त्रणको मुख्य उपायका रूपमा अहिले अस्ट्रेलियाका मुख्य सहरहरूमा लकडाउन लगाइएको छ। हाल अस्ट्रेलियाको एक करोड अर्थात् ४० प्रतिशत जनसंख्या लकडाउनमा रहेको छ। लकडाउनको सातौँ हप्ता बितिसक्दा पनि ‘डेल्टा भेरियन्ट’ का कारण न्यू साउथ वेल्समा संक्रमण बढ्दो क्रममा रहेको छ। 

न्यू साउथ वेल्सको छिमेकी प्रान्त भिक्टोरियामा सोमबार २० जनामा संक्रमण भेटियो, जबकी अघिल्लो दिन ११ जनामा मात्र भेटिएको थियो। अस्ट्रेलियाको राजधानी मेल्बर्नमा बिहीबारसम्मका लागि लकडाउन जारी गरिएको छ। क्वीन्सल्यान्ड प्रान्तमा सोमबार चार जना संक्रमित भेटिए। क्वीन्सल्यान्डको कायन्र्स सहरमा लकडाउन लगाएको छ। सोही प्रान्तका ब्रिसबेन जस्ता सहरहरूमा आइतबारसम्मका लागि ‘घर बस आदेश’ जारी गरिएको थियो। 

अगस्ट २८ मा सिड्नीको लकडाउन खुल्ने तय भएको भए पनि सेप्टेम्बरभरि लकडाउनलाई निरन्तरता दिइने सरकारी अधिकारीले स्पष्ट पारिसकेका छन्। अस्ट्रेलियाको स्वास्थ्य मन्त्रालयका अनुसार ३६ हजार ६ सय ३० जना संक्रमित भइसकेका छन् भने ९ सय ४० जनाको मृत्यु भइसकेको छ।  

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन कम्जोर खोप वितरणका लागि आलोचित हुँदै आएका छन्। अस्ट्रेलियामा अहिले १६ वर्षभन्दा माथिको २२.५ प्रतिशत जनसंख्याले मात्र खोप पाएका छन्, जुन संयुक्त अधिराज्य, अमेरिका र युरोपियन युनियनभन्दा कम हो। 

Logo