दक्षिण अफ्रिकाका अस्पताल ओमिक्रोनका बिरामीले भरिए

दक्षिण अफ्रिकाका अस्पताल ओमिक्रोनका बिरामीले भरिए


कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापाेसाले सम्पूर्ण नागरिकहरूलाई खोप लगाउन आह्वान गरेका छन् । यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकोमा पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् । 

दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय संस्था (एनअ‌ाइसीडी) का अनुसार पछिल्लो समयमा संक्रमणमा भएको वृद्धि अप्रत्याशित हो । देश कोभिडको चौथो लहरमा प्रवेश गरिसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ' दुर्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीको संख्या दोब्बरले बढेको छ,' संक्रमक रोग विज्ञ इयान साने भन्छन् । 

संक्रमितकाे संख्यामा वृद्धि भएकोले त्यसका लागि तयारी हुन उनले अस्पताललाई आग्रह गरेका छन् । अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । 

दक्षिण अफ्रिकाको मेडिकल रिसर्च काउन्सिलका प्रमुख डा फरिद अब्दुल्लाहले जाेहेनसवर्ग र तास्वानेमा अस्वभाविक रूपमा संक्रमित बढेको बताएका छन् । देशकै सबैभन्दा ठुला सहर रहेको गउटेन प्रान्तमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । 

अधिकांश बिरामीले खोप नलगाएको र डरलाग्दो संख्यामा बालबालिका संक्रमित भएको चिकित्सकहरूले बताएका छन् ।  

Logo