काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये गैरकानुनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी गर्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले त्यस्तो खुलासा गरेको हो ।
त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने मन्त्रिपरिषद्को निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय संविधानको मर्म विपरित भएको भन्दै आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीन वटा रिट निवेदन परेको हो ।
संसदीय समितिले आगामी कात्र्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगामी कात्र्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तैगरी आजबाट आन्तरिक हवाई उडान सुरु भएको छ । नेपालमा सेवा दिइरहेका ८ वटा कम्पनीहरुले आजबाट सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १ सय ८० दिनपछि पुनः सुरु भएको हो ।
विना अक्सिजन १० औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान काठमाडौंको जोरपाटीस्थित आफैनै निवासमा बिहान १० बजे उनको निधन भएको हो । सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिमचितुवा’ कोे पार्थिव शरीर बुधबार बौद्ध परम्पराअनुसार अन्त्यष्टि गरिने छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया