काठमाडौं,
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्विट गरी भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । उनले मोदीको दोस्रो कार्यकालमा दुवै देशबीच असल सम्बन्ध कायम हुने अपेक्षा गरेका छन् ।
उनले भारतसँग शान्तिवार्ता र कास्मिर विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् । विदेशी सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भाजपा सत्तामा आए कास्मिर विवाद समाधान हुनसक्छ ।’ उनले दुई देशबीच कास्मिर प्रमुख समस्या भएको पनि चर्चा गरे ।
वार्ताका लागि पाकिस्तानले आवश्यक वातावरण पनि तयार गरेको उनले बताएका छन् । पाकिस्तानले जैश–ए–मोहम्मद लगायतका सबै आतंकवादी संगठनमाथि कारवाही गरेको उनले स्पष्ट पारे । उनले भने, ‘हामीले यस्ता गुटका धार्मिक स्कुल सरकारी नियन्त्रणमा लिएका छौं । सशस्त्र संगठनलाई पनि निःशस्त्र गराउने क्रममा छौं ।’ यी काम अरूको दबाबमा नभई पाकिस्तानको असल भविष्यका लागि गरेको उनले बताए ।
उनले ट्विट गर्दै लेखेका छन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपा र सहयोगी दललाई जितका लागि बधाई दिन्छु । दक्षिण एशियामा शान्ति, प्रगति र समृद्धिका लागि म मोदीसँग मिलेर काम गर्न आशावादी छु ।’
प्रकाशित: १० जेठ २०७६ ०९:०४ शुक्रबार