नेकपाले विप्लवलाई महासचिवबाट हटाएको छ : नेता गुणराज लोहनी

नेकपाले विप्लवलाई महासचिवबाट हटाएको छ : नेता गुणराज लोहनी


नेपाल कम्युनिष्ट पार्टीले नेत्रविक्रम चन्द 'विप्लव'लाई महासचिवबाट हटाएको छ । 

विप्लवले कारबाही गरेका नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओली पक्षले चितवनमा राष्ट्रिय भेला गर्दै विप्लवलाई महासचिव पदबाट हटाएको हो । भेलाले पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले गरेको स्थानीय तह निर्वाचनमा नजाने निर्णय उल्लंघन गर्दै महासचिवकै निर्देशनमा पार्टीका नेता कार्यकर्ता चुनावमा सहभागि भएकाले महासचिवलाई पार्टीबाट हटाउनु परेको नेता गुणराज लोहनीले बताए । नेकपाले धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक तोकेको छ ।

लोहनीले भने, ‘बैठकले जे–जे निर्णय गरेको थियो, हामी सबैलाई थाहा छ कि पार्टी चुनावमा नजाने । देशभक्त, एमसीसी विरोधी शक्तिहरुलाई उठाउने भन्ने थियो । र केन्द्रीय समिति बैठक सकेर आउने बित्तिकै केन्द्रीय सदस्यहरु नै चुनावमा जान थाले महासचिवको निर्देशनमा । प्रवक्ता आफै गएर निर्वाचन आयोगमै दल दर्ता गर्ने समयसम्म पुग्नुभयो । पछिल्लो क्रममा रोल्पाको सुनसर र थवाङमा कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्ने जुन निर्णय गर्नुभयो । यसबाट केन्द्रीय समितिले गरेका निर्णयहरु पूर्ण रुपले उहाँहरुले खारेज गरिसकेपछि हामीले केन्द्रीय समितिको बैठक बोलाउन आव्हान ग¥यौँ । उहाँहरुले बोलाउनु भएन । हामीले केन्द्रीय समिति बैठक बोलाउनुस् । बिस्तारित बैठक बोलाउनुस् भन्ने कुरा मान्नुभएन । हामीले आज चाहीँ राष्ट्रिय भेला सबै जिल्लाबाट प्रतिनिधिमुलक तरिकाले राष्ट्रिय भेला बोलाएर आज तत्कालिक केन्द्रीय समितिको बहुमतले जे निर्णय गरेको थियो त्यसको विरुद्ध गएको कारणले गर्दाखेरी महासचिवलाई हटाएको र धर्मेन्द्र बास्तोलालाई नेपाल कम्युनिष्ट पार्टीको संयोजक हामीले नियुक्त गरेका छौँ । भेलाले निर्णय गरेको हो ।’ 

नेकपाको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई विप्लवले केही समय अघि पार्टी जिम्मेवारीबाट मुक्त गरेको विज्ञप्ती जारी गरेका थिए । 

Logo