मुम्बइ हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

मुम्बइ हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

केन्द्रबिन्दु
0
Shares

सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका मुख्य हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ ।

लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका  मिरलाई ४ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तोकेको छ । ‘यस महिनाको सुरुमा लाहोरको एक आतंकवादविरोधी अदालतले प्रतिबन्धित लश्कर-ए-तैयबा (एलईटी)का एक कार्यकर्ता साजिद माजिद मिरलाई आतंकवादीलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको थियो’, सो मुद्दासँग जोडिएका एक वकिलको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । 

लाहोरमा जन्मेका मिरले मुम्बई आक्रमणको योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्नमा प्रमुख भूमिका खेलेका थिए । मुम्बई नरसंहारमा २६ विदेशीसहित १६६ जनाको मृत्यु भएको थियो । आक्रमणमा तीन सयभन्दा बढी घाइते भएका थिए । उक्त हमलामा ९ आक्रमणकारी मारिएका थिए । 

सो हमलापछि भारत-पाकिस्तान तनाव बढेको थियो । आक्रमणमा उनको संलग्नतालई लिएर मिरलाई भारतले मोस्ट वान्टेडको सूचीमा राखेको थियो । दुई देशका क्रिकेट टोलीबीचको खेल हेर्न क्रिकेट फ्यानको रूपमा उनी सन् २००५ मा भारत गएका थिए । त्यतिबेला उनी करिब १५ दिन भारतमा बसेका थिए । 

एजेन्सी

 

Logo