उदयपुर

सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ । "/>

बैदेशिक रोजगारीको पीडा : कमाउने छोरो बाकसमा आएपछि…!

बैदेशिक रोजगारीको पीडा : कमाउने छोरो बाकसमा आएपछि…!

केन्द्रबिन्दु
0
Shares

उदयपुर

सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ । त्यही घरभित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते आवाज सुनिन्छ, बाहिर दलानमा कहिले नाबालककी आमा त कहिले हजुरआमा मुर्छा पर्दै बिउँझन्छन् ।

कमाउन गएको छोरो १० महिनामा बाकसमा आउँदा कसको मनले थेग्ला । सबैका आशाका केन्द्रबिन्दु ढलेपछि यतिबेला श्रीपुरका सार्कीबहादुर मगरको परिवार शोकमा मात्र छैन, यसपछि गुजारा कसरी चलाउने भन्ने चिन्तामा छ ।

२६ वर्षको लक्का जवान जसले सात समुद्रपारिको भूमिमा प्रचण्ड घामको बेवास्ता गर्दै दुःख गरेर घरमा पैसा पठाउला र बाँडीचुँडी खाउला, अलिक हेर्न हुने भए पनि घर बनाउला, स्वास्थ्य उपचार गरौंला र भाइबहिनी र छोराको शिक्षामा लगानी गरौंला भन्ने सोच बनाएका मगर परिवारको त्यो कल्पना अब सपनामा मात्रै सीमित बनेको छ ।

१० महिना अघि काठमाडौंको एक म्यानपावरबाट हेल्पर काम गर्न मलेसिया पुगेका रतन मगरको दसैंको टीकाको दिन मृत्युको खबर आएपछि परिवार यतिबेला विक्षिप्त छ । दसैंको टीकाको दिन विदेशमा बसेको छोराले फोन गर्ला भन्ने परिवारले आशा गरिरहेका थिए, त्यो स्वाभाविक पनि थियो । स्वदेशमै हुँदा त चाडबाडको बेला घरमा आउन नसक्दा फोनबाट दुःखसुखका कुरा हुन्छ । झन् विदेशमा रहेकाको नहुने कुरै भएन ।

कति बेला बुढाको फोन आउला र खुसी साटासाट गर्दै सबै कुरा गरौंला भन्ने सोचमा रतनकी २३ वर्षीया श्रीमती मीना थिइन् । त्यसो त उनी मात्र होइन, उनकी ५५ वर्षीया सासू मंगलीमाया मगरको पनि त्यही सोच थियो । टीकाको दिन छोरासँग कुरा गरौंला भन्ने उनको चाहना थियो । उनीसँगै परिवारका अन्य सदस्यको चाहना पनि उही थियो । तर त्यो चाहना पूरा हुन सकेन ।

टीकाको समय सुरु हुँदै गर्दा मीनाको मोबाइलमा टिनिनिनी बजेको घण्टी उनीहरुका लागि बलेको दियो एक्कासि निभे जस्तो भयो । रतनको एक्कासि मृत्युको खबर आउँदा सुरुमा त पत्यार लागेन उनीहरूलाई । तर नलाग्दा नलाग्दै पनि घरमा कोलाहल मच्चियो, जब पुष्टि भयो, त्यतिबेला सम्म आमा र श्रीमती मुर्छा परिसकेका थिए । ‘तलब लिई नसकेकाले दसैं लगत्तै केही पैसा पठाउँला, अहिले जसोतसो ऋण खोजेर भए पनि टार्दै गर्नू । चाडबाडमा मीठोमसिनो नै खानू, परिवारलाई एकसरो कपडा फेर्दिनू आमा भनेर बिदा मागेको छोरा एक साता बित्न नपाउँदै यस्तो खबर सुन्नुप¥यो,’ गहँभरि आँसु पार्दै आमा मगंलीले भनिन्, ‘कमाउने छोराको यो हालत भयो, अब हामी कसको सहारामा बाँच्नु ।’

त्यसो त मीनाको व्यथा पनि उस्तै छ । आधा भन्दा बढी जीवन व्यतीत गर्न बाँकी रहेकी मीना तीन वर्षीय छोरो काखमा लिँदै भन्छिन्, ‘राम्रोसँग बुबा पनि भन्न नपाई टुहुरो हुनुप¥यो । के गर्नु, यसको भाग्यमा नै बुबा भन्ने नाता यति नै रहेछ । अब यसको पालनपोषण र शिक्षादीक्षा कसले गर्देला र ?’

उनी थप्छिन्, ‘म त जसोतसो बाँचुँला, कहिले खाउँला, कहिले भोकै रात बिताउँला तर यो बच्चालाई कसरी जिउने बनाऊँ ।’ साक्षर मात्र रहेकी मीनासँग न कुनै सिप छ, न शैक्षिक योग्यता । केवल मजदुरी गर्ने बाहेक उनीमा अरू केही उपाय छैन । साहुको ऋण काटेर सबै गरी १ लाख ७० हजार रुपैयाँ खर्च गरेर बिदेसिएको छोरो ऋण तिर्न नपाई ज्यान गुमाएपछि मगर परिवार यतिबेला संकटमा छ ।
राजधानीबाट

Skip This
Skip This
Logo