अमेरिकामा तापक्रम माइनस ७० डिग्रीसम्म पुग्ने चेतावनी !

अमेरिकामा तापक्रम माइनस ७० डिग्रीसम्म पुग्ने चेतावनी !

केन्द्रबिन्दु
0
Shares

सिकागो

अमेरिकामा पछिल्ला केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण जनजीवन नराम्ररी प्रभावित बनेको छ । उत्तरी ध्रुवबाट चलिरहेको चिसो चक्रवातका कारण अमेरिकाको मध्य–पश्चिम राज्यमा हिमपात भएको छ । यसरी भएको हिमपातलाई अमेरिकामा ‘पोलर भोर्टेक्स’ नाम दिइएको छ ।

यसका कारण अमेरिकाका ९ करोड भन्दा बढी मानिस शून्य देखि माइनस १७ डिग्रीसम्म चिसोमा बस्न बाध्य भएका छन् । चिसोका कारण स्कुल, व्यापारिक प्रतिष्ठान र सरकारी कार्यालयहरु बन्द गरिएका छन् भने यी राज्यमा सयौंको संख्यामा हवाई उडान समेत रद्द गरिएका छन् ।

अमेरिकाको शिकागोमा रहेका दुई मुख्य विमानस्थलबाट मात्रै १ हजार ५ सय भन्दा बढी उडान रद्द गरिएका छन् । अमेरिकाको शिकागोमा तापक्रम शून्य देखि माइनस ३० डिग्रीसम्म पुगेको छ ।

शिकागोका मेयरले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । चिसोका कारण शिकागो नदी जमेको छ ।मध्य–पश्चिम राज्य विस्कन्सिन, मिशिगन र इलिनोइसका साथै खासगरी गर्मी नै रहने दक्षिणी राज्य अलबामा र मिसिसिपीमा चिसोका कारण संकटकाल घोषणा गरिएको छ ।

मौसम विभागका अनुसार हिमपात जारी नै रहनेछ । केही इलाकामा २४ इन्चसम्म हिउँ जम्न सक्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान विभागले देशको सबैभन्दा व्यस्त सहरका रुपमा रहेको शिकागोमा आगामी दिनमा अन्टार्कटिका भन्दा पनि बढी चिसो हुनसक्ने अनुमान गरेको छ ।

अमेरिकाका १० राज्य इलिनाय, ओहायो, मिनिसोटा, नर्थ डकोटा, साउथ डकोटा, विसकन्सिन, मिजोरी, आयोवा, इन्डियाना र मोन्टानामा अत्याधिक हिमपात जारी छ . शिकागोमा बस्ने रियान कोकुरेकले भने, ‘यो अविश्वसनीय हो । घर बाहिर पाइला राख्दा चिसोका कारण श्वास लिन पनि कठिन हुन्छ । हावामा अक्सिजन नै नभएको जस्तो लाग्छ । नाकबाट केही बगिरहेको छ भने अचानक जम्छ । यो मेरो जीवनको सबैभन्दा अनौठो अनुभव हो ।’

पोलर भोर्टेक्स भनिने ध्रुवीय चक्रपातका कारण अमेरिकाका केही भागमा अत्याधिक चिसो बढेको हो । पोलर भोर्टेक्सका कारण तापक्रम माइनस ४० देखि माइनस ७० डिग्रीसम्म पुग्ने मौसम विभागले चेतावनी दिएको छ । शिकागोमा तापमान अन्टार्कटिकाको भन्दा पनि कम हुनेछ । यसका कारण करिब पाँच करोड जनता प्रभावित हुनेछन् ।
एजेन्सी

Logo